युवा उद्यमशीलता विकासका लागि ज्योति विकास बैंकद्वारा ५ बिजनेस इन्क्युवेसन सेन्टर स्थापनामा सहयोग
इन्भेष्टाेपेपर । भाद्र २१, २०७९
काठमाण्डाैँ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत देशका ५ विभिन्न सरकारी कलेजहरुमा “Business Incubation Center” स्थापना गर्ने परियोजनामा सहकार्य गर्नका लागि युथ स्किल ल्याबसंग सम्झौता गरेको छ।
आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र युथ स्किल ल्याबका तर्फबाट स्किल ल्याबका संस्थापक निर्देशक नन्द किशोर मण्डलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो।
उक्त सम्झौता बमोजिम ज्योति विकास बैंकले ५ वटा सरकारी कलेजमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि Business Incubation Center स्थापना गर्न सहयोग गर्नेछ। उक्त Business Incubation Center मा विधार्थीहरुले नि:शुल्क रुपमा उद्यमशीलता तालिम, विकास र संचालनमा सहयोगको साथै उद्यम सुचारु गर्न लगानीकर्तासंग सहकार्यको अवसर पनि प्राप्त गर्नेछन्। सहकार्यको साझेदार युथ स्किल ल्याबले यस कार्यक्रम संचालन र व्यवस्थापन गर्नेछ ।
उद्यमशीलता विकासले देशको अर्थतन्त्रमा दिगो योगदान पुर्याउने र दक्ष युवाहरुलाई अवसर प्रदान गर्ने सोचका साथ बैंकले Business Incubation Center स्थापना गर्ने पहल अघि सारेको हो। देशका विभिन्न ठाउँबाट अध्ययन गर्न आउने विद्यार्थीहरुलाई उद्यमी बनाउँदा ती ठाउँहरुको विकासमा पनि सहयोग हुने अपेक्षा बैंकले राखेको छ।
ज्योति विकास बैंकले हाल ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।
