किन बाँडदैछ फ्रान्सले १८ देखि २५ वर्षका युवायुवतीलाई नि:शुल्क कन्डम?

न्भेष्टाेपेपर ।  मंसिर २४ २०७९

यौन सम्पर्कबाट सर्ने सङ्क्रमण (एसटीआई) फैलने दरलाई कम गर्ने उद्देश्यका साथ फ्रान्समा युवाहरूलाई आगामी ज्यानुअरीदेखि नि:शुल्क कन्डम दिइने भएको छ।

फ्रेन्च राष्ट्रपतिले बिहीवार युवाहरूको स्वास्थ्यका लागि एउटा कार्यक्रमको घोषणा गर्दै उक्त नयाँ उपायको सुरुवात गरेका हुन्। युवाहरूले फार्मेसीबाट कन्डमहरू लिनसक्ने राष्ट्रपति एमानुएल माक्रोँले बताए।

उनले उक्त कदमलाई “गर्भनिरोधका क्षेत्रको एउटा सानो क्रान्ति” भनेका छन्। सन् २०२० र २०२१ मा फ्रान्समा एसटीआई दरहरूमा ३० प्रतिशत वृद्धि भएको थियो। नयाँ उपायले एसटीआई फैलने क्रम घट्ने र गर्भनिरोधको पहुँच विस्तार हुने ठानिएको छ।

उक्त योजना स्वास्थ्य क्षेत्रमा सुधारका लागि चालिएका अन्य स्वास्थ्यसम्बन्धी पहलहरूसँगै सञ्चालन हुनेछ।

सन् २०१८ मा फ्रेन्च सरकारले चिकित्सक वा मिडवाइफको सिफारिसमा फार्मेसीहरूबाट खरिद गर्ने व्यक्तिहरूले कन्डमका लागि तिरेको रकम फिर्ता गर्न थालेको थियो।

यसै वर्षको सुरुमा सरकारले २६ वर्षसम्मका सबै महिलाका लागि गर्भनिरोधक साधन निःशुल्क गरेको थियो। त्यसले ३० लाख महिला लाभान्वित भएका थिए।

गर्भनिरोधक सामग्री यसअघि १८ वर्ष वा सोभन्दा कम उमेरका महिला र युवतीका लागि निःशुल्क थियो। माक्रोँले बिहीवार एउटा ट्वीट गर्दै उक्त नयाँ योजना अन्य स्वास्थ्यसम्बन्धी उपायहरूसँगै सञ्चालन हुने जानकारी दिए।

त्यस्ता अन्य उपायमा सबै महिलाका लागि फार्मेसीहरूमा निःशुल्क आपत्कालीन गर्भनिरोध र २६ वर्षभन्दा कम उमेरकालाई एचआईभी बाहेक चिकित्सकको सिफारिसविनै नि:शुल्क एसटीआई परीक्षण लगायतका कुरा छन्।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *