नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता, ६२ करोड ९४ लाख रुपैँया दाबी भुक्तानी

इन्भेष्टाेपेपर ।  पुष ५, २०७९

नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । पछिल्लो चार वर्षदेखि यो बीमा सुविधा दिएकोमा पाँचौँ वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो ।

यो बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६२ करोड ९४ लाख रुपैंया दाबी भुक्तानी भएको छ ।  हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधिक जीवन बीमा सुविधा योजना अन्तर्गत बीमा गरेका मध्ये ३३८ जनाको दाबी भुक्तानी भएको बैंकले जनाएको छ ।

चार वर्ष अगाडि सुरु गरेको घातक रोगमा ३ लाख र आवधिक जीवन बीमाको लागि ७५ हजार गरी ३ लाख ७५ हजार रुपैयाँको बीमा हरेक खातावालाको लागि गरिदै आएको छ ।

बैंकले आफ्ना खातावालाको हित तथा घातक रोग लाग्दा आर्थिक भरथेग गर्ने उद्देश्यले यस्तो सुविधा दिँदै आएको हो । यो योजना सुरुवातबाट नै निकै प्रभावकारी रहेको र यस योजनाले आफ्ना ग्राहकहरुलाई ठूलो राहत मिलेको भन्दै आगामी दिनहरुमा यसलाई निरन्तरता दिने नबिल बैंकले जनाएको छ ।

मेट लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा सुरु गरेको यस योजना अन्तर्गत बैंकले पछिल्लो चार वर्षमा १ अर्ब ६० करोड ७ लाख रुपैयाँ रकम बराबरको प्रिमियम भुक्तान गरेको छ । नबिल बैंकका अनुसार मुद्दतिबाहेक सबै प्रकारको बचत खातामा घातक रोग तथा अवधिक जीवन बीमा हुने गरेको छ ।

कसरी पाइन्छ यो सुविधा ?

यो सुविधा पाउन बचत खातामा न्यूनतम ३५ हजार रुपैयाँ अनिवार्य हुनुपर्ने र खातावालको उमेर समूह १६ देखि ६० वर्ष हुनु पर्ने बैंकले जनाएको छ । यस्तो रकम घातक रोग लागेको चिकित्सकले प्रमाणित गरेको समयमा हुनुपर्छ ।

नबिल बैंकले विभिन्न १३ घातक रोगहरू जस्तै किड्नी फेलर, क्यान्सर, हर्ट अट्याक, लिभर फेलर, बोनम्यारो ट्रान्सप्लान्टेसन, हर्ट भल्भ सर्जरी, इन्ड स्टेज लङ डिजिज, कोमा, पल्मोनरी हाइपरटेन्सन, स्ट्रोक, परमानेन्ट हेपाटाइटिस, अप्लास्टिक एनिमिया तथा सिरयस कोनोनरी आर्टरी डिजिजका लागि बीमा सुविधा दिने गरेको छ ।

बैंकका अनुसार प्रिमियम रकमको भार बैंक आफैँले बहन गरिदेने विशेषता भएको यो योजनाले ग्राहकहरुलाई घातक रोगसँग सामना गर्ने र आर्थिक व्यवस्थापनको मानसिक चापलाई कम गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

नबिल बैंकले यो योजना अन्तर्गतको सुबिधा आफ्नो सम्पूर्ण शाखा कार्यालयबाट प्रदान गर्दै आएको छ । यस योजनाको सफलता र ग्राहकहरूको चाहनाअनुरुप अबको दिनमा पनि यस योजनाका सुबिधा र सेवालाई थप प्रभावकारी बनाउने र समय अनुसार परिवर्तन गर्न बैंक प्रतिबद्ध रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *