बजेटप्रति पर्यटन व्यवसायी असन्तुष्ट

इन्भेष्टाेपेपर । जेठ २०, २०८०

काठमाडौँ ।  सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति पर्यटन व्यवसायीले असन्तुष्टि जनाएका छन् । पर्यटन क्षेत्रको समस्या सम्बोधन गर्ने बजेट नआएको जनाउँदै पर्यटन व्यवसायीले आगामी आवमा पर्यटन प्रवर्धनमा कुनै उपलब्धि नहुने दाबी गरेका छन् । 

सरकारले आगामी आवका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयतर्फ ११ अर्ब ९६ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । विनियोजन गरिएको बजेटले नयाँ गन्तव्यको विस्तार, पर्यटन पूर्वाधार निर्माण, पर्यटन व्यवसायीलाई राहतलगायत पर्यटक आउने वातावरण नै नरहेको व्यवसायीहरूको भनाइ छ । 

होटल एसोसिएसन अफ नेपालका अध्यक्ष विनायक शाहले सार्वजनिक बजेटले समस्याग्रस्त होटल क्षेत्रको समस्या समाधानमा अपेक्षाकृत योगदान दिन नसकेको जनाउनुभयो । “सरकारले आगामी आवदेखि लागु हुने गरी आतिथ्य सेवामा विलासिता कर थप गरेको छ । छिमेकी मुलुकको सिको गरी ल्याइएको विलासिता करले सञ्चालनमा आउने तयारीमा रहेका दर्जनौँ अन्तर्राष्ट्रिय ब्रान्डका तारे होटलका सेवा महँगो हुने हुँदा यो कर समयसापेक्ष नभएकाले खारेजी हुनु पर्छ,” उहाँले भन्नुभयो । 

हवाई यात्रामा लगाइने मूल्य अभिवृद्धि करले स्वदेशी यात्रुभन्दा धेरै बढी डलर शुल्क तिर्नुपर्ने विदेशी पर्यटक अझ बढी प्रभावित हुने उहाँको भनाइ छ । सरकारले होटल क्षेत्रलाई उद्योगका रूपमा वर्गीकरण नगर्दा यो क्षेत्रका व्यवसायीले थप आर्थिक भार र व्यावसायिक पीडा भोग्दै आएको उहाँको भनाइ छ ।

त्यसै गरी पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलले सरकारले विनियोजन गरेको बजेट पर्यटन क्षेत्रको आवश्यकताभन्दा अपुग भएको बताउनुभयो । सरकारले शिक्षा मन्त्रालय अन्तर्गत दिवा खाजाका लागि आठ अर्ब विनियोजन गरेको र समग्र पर्यटन क्षेत्रको विकास तथा विस्तारमा केवल ११ अर्ब बजेट निनियोजन हुनु दुःखद भएको उहाँको भनाइ छ । “सरकारले पर्या पर्यटनको विकासमा प्राथमिकता दिन सकेको छैन । वर्तमान आर्थिक सङ्कटबाट पार पाउने बजेटको प्राथमिकता र लक्ष्य देखिँदैन,” उहाँले भन्नुभयो । 

सरकारको नीति तथा कार्यक्रममा घोषित विदेशी मुद्रा आर्जन गर्ने व्यवसायलाई नगद अनुदान दिने घोषणाप्रति पनि बजेट मौन रहेको उहाँले बताउनुभयो । ऋणको साँवा ब्याजको मारबाट थिचिएको पुनरुत्थानका लागि सङ्घर्षरत पर्यटन व्यवसायीलाई निराश बनाइएको उहाँको भनाइ छ । 

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पनि हालसम्म मूल्य अभिवृद्धि कर (भ्याट) छुट रहेको हवाई टिकटमा भ्याट लगाउने तथा वैदेशिक भ्रमणको प्याकेज बिक्री गर्दा पाँच प्रतिशत वैदेशिक पर्यटन शुल्क लगाउने व्यवस्थाप्रति आपत्ति जनाएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *