गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा

न्भेष्टाेपेपर । असार १८, २०८०

काठमाडौँ । प्राचीन गुरुकुल परम्परादेखि सुरु भएको गुरु पूर्णिमा पर्व आज गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ । प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन जस्तै आज पनि गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको हो ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ ।

यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ – गुरु ब्रह्मा  गुरुविष्णु गुरुर्देवो  महेश्वरः । गुरु साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमस् । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।

गुरु पूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरेका छन् । यस अवसरमा विश्व हिन्दू महासङ्घको कार्यालय बाँसबारीमा आयोजना गरिएको कार्यक्रममा गुरुको महत्त्वका बारेमा प्रकाश पारिएको थियो । 

यसैगरी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि आज गुरुपूर्णिमाका अवसरमा कार्यक्रम आयोजना गरेको थियो । नेपाल महर्षि वैदिक फाउन्डेसनले दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्दनगरमा आयोजित कार्यक्रममा वैदिक गुरु परम्पराका गुरुप्रति सम्मानभाव प्रकट गरिएको थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *