कविता पलाउँछ …
-- कुल थापा
एउटा कविता लेख्नुहोस् न !
“कविता महोत्सव” मा वाचन गर्न
एकजना शुभचिन्तक कानमै फुसफुसाउँछ
मेरो मानसपटल सलबलाउँछ
धरती छैन, परिवेश छैन, विचार छैन
तर पुरस्कार थाप्ने सपना सजाएर
“यथास्थिति” को एउटा कविता पलाउँछ।
पट पट फाटेका नाङ्गा कुर्कुच्चाहरू
सारङ्गी बनेको उदर अनि …
जवानीमै मुजा परेका चेहराहरू
मगमग बास्ना आउने सुकोमल ज्यानहरू
सेवा सुसारमा खटिएका “पजेरा” भ्यानहरू
रगत उही छ, पीडा फरक छ
जातित्व उही छ, अस्तित्व फरक छ
त्यसैले, मथिङ्गल चलमलाउँछ
खरानी खोतलेर फिलिङ्गो भेट्टाउने
रहर र उत्साह सङ्गालेर
“जागृति” को एउटा कविता पलाउँछ।
झरी बादल र हिलोसँग लडीबुडी गर्दै
वर्षैभरि वस्तुभाउ र बिरुवा मुसार्दै
जसले उब्जाउँछ उसलाई खान छैन
रोग लाग्दा औषधि र
भुराभुरीलाई स्कुल जान छैन
तर….
मालिकको भकारी भरेकै हो
दुवै हात फैलाएर “प्राणदाता” “अन्नदाता” को उच्छवास सहित
पेटको ज्वाला मेट्न कर्जा लिएकै हो
पाङ्ग्रा उही छन् गति उल्टो छ
सिद्धान्त र नारा सही छन्
व्यवहार फरक छ
सायद…..
मुटुभित्र सुई रोपिँदा, कन्दरा रसाउँछ
मानव मुक्तिको आशय बुझाउन
अलिकति माया, मानवता र भावना उनेर
“मानवीय न्याय” को एउटा कविता पलाउँछ।
राष्ट्र, राष्ट्रियता र जनता
रक्षानमा मिल्की नै लागेको बेला
जनता जुर्मुराउँदो रहेछ
आततायी गोली पड्काउँछ, सङ्गीन रोप्दछ
जनता रगत बगाउँछ, सहिद बन्दछ
सहिद “शिखर” हो सबैलाई नियाल्छ
दुष्कर्मको विरुद्धमा खबरदारी गर्छ
देश प्रसव वेदनाले छटपटाउँछ
सुनौलो बिहानी र सूर्योदयको प्रतिक्षा छ कि ?
मानवता र समानता जन्माउन गाह्रो भो कि ?
देश उही हो, बिरानो लाग्दैछ
बलिदान उही हो, फोस्रो लाग्दैछ
नेता उनै हुन्, पुड्का लाग्दैछन्
त्यसैले ….
अभाव खड्किन्छ, चेतना जग्मगाउँछ
छातीभित्र देश आँखाभित्र सहिद
अनि, अग्रपंक्तिमा जनता राखेर
“राष्ट्रियता” र “प्रतिरोध” को एउटा कविता पलाउँछ
“सम्मान” र “उन्मुक्ति” को एउटा कविता पलाउँछ
“आस्था” र “विश्वास” को एउटा कविता पलाउँछ।
