एसीसी प्रिमियर कप जितेर फर्केको यू १९ टोलीलाई विमानस्थलमा भव्य स्वागत

न्भेष्टाेपेपर । कात्तिक ९, २०८०

काठमाण्डाैँ । मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोली बिहीबार बिहान स्वदेश फर्किएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतका पदाधिकारीहरुले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरे। प्रियिमर कपको उपाधिसँगै नेपाल एसिया कप खेल्नका लागि छनोट पनि भएको छ।  

नेपालले मंगलबार क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १९ रनले हराउँदै उपाधि जितेको थियो। प्रतियोगिताभरिका सबै खेल जित्दै नेपाल उपाधि जितेर फर्केको हो। प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनको विशाल अन्तरले हराएको थियो। त्यसअघि समूहगत चरणमा पनि नेपालले तीन वटै खेल जितेको थियो।

नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो। दोस्रो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको थियो। नेपालले तेस्रो खेलमा साउदी अरेबियालाई तीन सय दुई रनले हराएको थियो।  प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी थिए। यो प्रतियोगिताबाट तीन वटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू १९ एसिया कपमा छनोट भएका छन्। छनोट प्रतियोगितामा पहिलो हुने नेपाल र दोस्रो हुने यूएई एसीसी यू १९ एसिया कपको समूह ‘ए’ मा  छनोट भएका  छन्।  

पाकिस्तानमा हुने प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान पनि छन्। मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा तेस्रो हुने टोली जापान भने एसीसी यू १९ एसिया कपको समूह ‘बी’ मा परेको छ। पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *