लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

न्भेष्टाेपेपर । चैत्र २८, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । 

सिंहदरबारमा मंगलबार आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लगानीमैत्री वातावरण बनाउन कानून परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्ताहरूलाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । 

‘सम्मेलनले घरेलु निजी क्षेत्र र अन्तरराष्ट्रिय प्रतिनिधिहरू बीचको अन्तरक्रिया र सञ्जाललाई उत्पादन मूल्य श्रृङ्खलामा लगानी बढाउन, नेपाली उत्पादन एवं सेवाहरूलाई विश्व बजारमा जोड्ने मञ्च प्रदान गर्नेछ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘लगानी सम्मेलनको यस मञ्चले लगानीकर्ताहरू, विकास साझेदारहरू, वित्तीय संस्थाहरू लगायत सरोकारवालाहरूलाई एकजुट हुन, अवसरहरू खोज्न, दीर्घकालीन साझेदारीलाई बढावा दिन सहज तुल्याउनेछ ।’ 

उहाँले विद्यमान र सम्भावित लगानीकर्ताहरूलाई आवश्यक पर्ने कुनै पनि सहयोग उपलब्ध गराउन नेपाल सरकार तयार रहेको बताउनुभयो ।

सरकारले विभिन्न क्षेत्रमा विदेशी तथा स्वदेशी निजी लगानी आकर्षित गर्न सम्मेलन आयोजना गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनको सफलता सम्भावित लगानीकर्ताहरूले देखाएको चासो, कानुनी र नीतिगत सुधारहरूमार्फत अनुकूल व्यापार वातावरणको सृजना गरिएको बताउनुभयो ।

सङ्घीय सरकारका मन्त्रालयहरूसँगै प्रादेशिक र स्थानीय सरकारका परियोजनाहरूलाई समान प्राथमिकतामा राखिएको उहाँले जानकारी गराउनुभयो । उहाँले आगामी महीना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गर्नुभयो । 
प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । 

‘लगानी सम्मेलनमा सक्रियरूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका कूटनीतिक नियोगहरूबाट सहयोगको अपेक्षा गर्दछौं,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *