४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
इन्भेष्टाेपेपर । आश्विन ९, २०८३
काठमाण्डाै । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
रघुगङ्गा गाउँपालिकामा निर्माण भएको आयोजनाका २०/२० मेगावाट क्षमताका दुई वटा युनिटबाट विद्युत् उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।
आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच भएको विद्युत् खरिद–बिक्री सम्झौताअनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ । परीक्षण उत्पादन १५ दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन शुरू हुनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक एवम् रघुगङ्गा हाइड्रोपावर लिमिटेडकाे सञ्चालक समितिका अध्यक्ष दीर्घायुकुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, कोभिड–१९ महामारी, बाढीलगायतका चुनौतीका बाबजुद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताउनुभयो ।
उहाँले विद्युत्को उच्च माग हुने बेलुकाको समय अर्थात् ‘पिक आवर’ मा दैनिक चार घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकाले सुक्खायाममा विद्युत् माग व्यवस्थापनमा आयोजनाले महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।
आयोजनाबाट वार्षिक २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुनेछ । कुल वार्षिक ऊर्जामध्ये झन्डै ३४ प्रतिशत विद्युत् सुक्खायाममा उत्पादन हुनेछ ।
