पोल्ट्रीमा साझेदारी गर्न निम्बस र के. बी. एग्रोबीच सम्झौता

न्भेष्टाेपेपर । जेठ २०, २०८१

काठमाडौं । धादिङको धुनिबेसीमा स्थापित अत्याधुनिक पोल्ट्री प्रोसेसिङ उद्योग तथा पोल्ट्री उत्पादनको बिक्री वितरणमा संलग्न के.बी. एग्रो एन्ड रिसर्च कम्पनी र शक्ति ब्रान्डमा पेलेट फिड समेत उत्पादन गर्दै आएको निम्बस ग्रुपले कुखुराजन्य वस्तुको बजार व्यवस्थापनमा साझेदारी गर्ने भएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया र के.बी. एग्रोका अध्यक्ष केशवराज थापाले सेयर खरिदबिक्री सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । के.बी. एग्रोका अध्यक्ष थापा नेपाल पेलेट फिड र जानुका ह्याचरीका सञ्चालक समेत हुनुहुन्छ ।

कुखरा उत्पादन, सही मूल्यमा गुणस्तरीय दानाको उपलब्धता र बजारमा उचित मूल्यमा उच्च गुणस्तरको पोल्ट्रीजन्य वस्तुको उपलब्धता सुनिश्चित गर्न दुई समूहले साझेदारी गरेको सम्झौतापछि के.बी. एग्रोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुई प्रतिष्ठित व्यावसायिक घरानाको साझेदारीबाट धराशयी हुँदै गएको नेपालको पोल्ट्री व्यवसायलाई नयाँ ढंगबाट सञ्चालन गरी समग्र पोल्ट्री व्यवसायको विकास र विस्तारमा समेत सकारात्मक योगदान हुने अपेक्षा गरिएको छ ।

के.बी. एग्रोले धादिङको धुनिबेसीमा दैनिक ३२ हजार पन्छी प्रशोधन गर्न सक्ने क्षमताको अत्याधुनिक प्रोसेसिङ उद्योग सञ्चालन गरिरहेको छ । पूर्ण स्वचालित उक्त प्रोसेसिङ हाउसको ब्लास्ट फ्रिजिङ क्षमता २४ मेट्रिक टन र फ्रिजिङ क्षमता ५०० मेट्रिक टन रहेको छ ।

के.बी. एग्रोले आफ्नो प्रोसेसिङ उद्योगमा प्रशोधन गरेको गुणस्तरीय कुखुराको मासुजन्य पदार्थ र अण्डा बिक्रीका लागि संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा लेट्स मिट नामको बिक्री केन्द्र सञ्चालन गरिरहेको छ । निकट भविष्यमै चाबहिलको सरस्वतीनगर, बालुवाटार, ठमेल, नयाँ बानेश्वर चोक, गोंगबु, मनमैजु, भैंसेपाटी, शंखमूल, पेप्सीकोला र बागबजारमा बिक्री केन्द्र सञ्चालन गर्ने योजना बनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *