ज्योति विकास बैंकद्वारा सुदूरपश्चिम प्रदेशका दुर्गम स्थानहरुमा बेबी वार्मर प्रदान

न्भेष्टाेपेपर ।  चैत १८, २०८१

काठमाण्डाैँ । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा बर्थिंग सेन्टरहरूमा नवजात शिशुको शारीरिक तापक्रमलाई उचित राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिनहरू प्रदान गरेको छ।

बैंकले सुदूरपश्चिम प्रदेशका पहाडी भेगका अति दुर्गम चार स्थानमा सो मेसिन जडान गरेको छ। दुर्गम क्षेत्रमा सुरक्षित प्रसुति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका यी स्थानहरुमा पनि बेबी वार्मर प्रदान गरेको हो।

ज्योति विकास बैंकको पहलमा बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका स्थित श्रीकोट हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको छ। साथै, दार्चुला जिल्लाको लेकम नगरपालिका वडा नं. ०२, शर्मौली अवस्थित शर्मौली हेल्थ पोस्ट र अपिहिमाल गाउँपालिका वडा नं. ०५, सौगन्नामा अवस्थित सौगन्ना आधारभूत स्वास्थ्य केन्द्रमा पनि बेबी वार्मर जडान गरिएको छ।

यसका अतिरिक्त, बैंकले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ०२, ब्रह्मटोल अवस्थित ब्रह्मटोल हेल्थ पोस्टमा पनि बेबी वार्मर जडान गरेको छ। बुढीगंगा नगरपालिकाकै पहिलो बेबी वार्मरले उक्त क्षेत्रको प्रसुति सेवामा थप सहजता पुग्ने भएकाले सम्बन्धित निकायहरु पनि थप उत्साहित भएका छन्।

विभिन्न कार्यक्रमहरु मार्फत बैंकका मार्केटिंङ्ग, ब्रान्डिङ्ग तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशल जंग अधिकारीद्वारा उक्त स्वास्थ्य चौकीहरुका पदाधिकारी लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बीच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । साथै, सोही अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत यी ४ वटा अस्पताल तथा बर्थिंग सेन्टर सहित हालसम्म देशभर ५९ वटा बेबी वार्मर मेसिनहरू प्रदान गरिसकेको छ। यी उपकरणहरु मार्फत हरेक वर्ष करिब २०६५ तथा अहिलेसम्म करिब १०३२५ भन्दा बढी शिशुहरु प्रत्यक्ष रुपमा यस सेवाबाट लाभान्वित भएका छन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *