गायिका तेजवती जोशीको स्वरमा ‘नेपालकी छोरी’ सार्वजनिक (भिडियाेसहित)
इन्भेष्टाेपेपर । जेष्ठ २२, २०८३
काठमाडौँ । विगत दुई दशकदेखि शास्त्रीय सङ्गीतमा साधनारत गायिका तेजवती जोशीको स्वर रहेको ‘नेपालकी छोरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
कुमार मिश्रको शब्द र टेकेन्द्र नेपालीको सङ्गीत रहेको सो गीतको भिडियोमा अभिनेत्री गीता ढुङ्गानाको अभिनय देख्न सकिन्छ । भिडियोमा देशप्रेम, अग्रजप्रति आदर र अनुजप्रति स्नेहभाव समेटिएको छ भने सकारात्मक सोच भर्ने प्रयास गरिएको छ ।
गीतका माध्यमबाट गीतकार र गायिकाले नेपाली छोरीको स्वाभिमान र पहिचानलाई प्रस्तुत गरेका छन् । योगेन्द्र राजकर्णीकारको निर्माण, रिदम कँडेलको सङ्गीत संयोजन, साजन शाहको ध्वनि मिश्रण रहेको गीतको भिडियो निर्देशन जिबी आग्रीले गर्नुभएको हो ।
थम्मन टाडीको नृत्य निर्देशन रहेको भिडियोको छायाङ्कन उत्सव दाहाल तथा सम्पादन सिलन लम्सालले गर्नुभएको हो । भिडियो ओएसआर डिजिटलमार्फत बजारमा आएको हो । गायिका तेजवती र सङ्गीतकार टेकेन्द्रले यसअघि ‘चुम्बक’ र ‘हजार जुनी’सहित चारवटा गीतमा सहकार्य गरिसक्नुभएको छ । गायिका जोशीले यसअघि नेपाली र नेवारी भाषाका थुप्रै गीत बजारमा ल्याइसक्नुभएको छ ।
