लगानी बोर्डको सीईओमा अर्थशास्त्री यांकी उक्याब नियुक्त
इन्भेष्टाेपेपर । साउन २०, २०८३
काठमाडौँ । लगानीको बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सरकारले अर्थशास्त्री यांकी उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको सीईओ नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
लगानी बोर्डको सीईओ सिफारिसका लागि अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त सिफारिस समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट सदस्य र प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल विज्ञ सदस्य थिए ।
काठमाडौं निवासी याङ्की उक्याब विकास अर्थशास्त्रको क्षेत्रमा लामो अनुभव सँगालेकी विशेषज्ञ हुन् । उनले यसअघि लगानी बोर्डमै परामर्शदाताको रूपमा काम गरिसकेकी छन् । उनी विशेष गरी सार्वजनिक नीति, दिगो विकास, जलवायु परिवर्तन, आर्थिक विकास तथा लगानीका विषयमा दख्खल राख्ने विज्ञका रूपमा परिचित छिन् ।
अन्तर्राष्ट्रियस्तरमा समेत अनुभव सँगालेकी उक्याबले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको प्यासिफिक कार्यालय (फिजी) मा सिनियर पोलिसी एडभाइजरको रूपमा काम गरेकी थिइन् । त्यसअघि उनले युएनडिपी नेपालमा विकास अर्थशास्त्रीका रूपमा समेत सेवा पुर्याएकी थिइन् ।
