हनुमानढोका दरबार परिसरमा राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण
Investopaper, माघ २७, २०७५
राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गरी टीका प्रसाद ग्रहण गर्नु भएकाे छ । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नु भएकाे थियाे ।
उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रधानमन्त्री केपी ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा लगायतले पनि वसन्त श्रवण गरी टीका, माला र प्रसाद ग्रहण गर्नु भएकाे थियाे । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ठ व्यक्ति त्यहाँ पुगी वसन्त श्रवण गर्ने परम्परा रहिआएको छ ।
त्यस अवसरमा नेपाली परम्परागत लोकबाजा पञ्चेबाजा बजाइएको थियो भने नेपाली सेनाका विभिन्न गणका निशानसमेत प्रस्तुत गरिएको थियो । साथै, नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो ।
