एड्सरोगीको सफल उपचारले जगायाे अाशा !
Investopaper, फाल्गुन २२, २०७५
काठमाडौं । एड्सलाई प्राणघातक रोग मानिँदै आएको छ । लामो समय देखि कुनैं उपचार नभएको भनिएको रोगको औषधि पत्ता लागेको छ । स्टेम सेल प्रत्यारोपणपछि संयुक्त अधिराज्यका एक जना एचआईभीका बिरामी पूर्णरुपमा स्वस्थ बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विश्वप्रशिद्ध स्वास्थ्यसम्बन्धी बुलेटिन नेचरमा डाक्टरहरले याे कुरा उल्लेख गरेका छन् । यस प्रकारको घटना दोस्रेपटक घटेको पनि उनीहरुले जनाएका छन् । बेलायतको राजधानी लन्डन निवासी ती विरामीकाे नाम भने खुलाइएकाे छैन । उनलाई झण्डै तीन वर्ष अगाडि एचआईभी संक्रमणविरुद्ध लड्न सक्ने दुर्लभ वंशाणु भएका एक दाताको बोन म्यारोको स्टेम सेल प्रत्यारोपण गरिएको थियो ।
विगत १८ महिनादेखि एचआईभीको लक्षण घट्दै गएपछि उनले एचआईभीविरुद्धको औषधि एन्टि–रेट्रोभाइरलकाे सेवनसमेत छोडिसकेको बताइएको छ । तर, अनुसन्धानकर्ताहरुले भने अहिल्यै उनको एचआईभी निको भइसकेको भन्न पनि नसकिने बताएका छन् ।
यसैगरी विशेषज्ञहरुले अधिकांश एचआईभी पीडितलाई स्टेम सेल प्रत्यारोपण प्रक्रियाबाट उपचार गराउनु व्यवहारिक नभएको बताए किनकि प्रत्यारोपण प्रक्रिया खतरनाक र पीडादायी हुन्छ । तर एक दिन एचआईभीविरुद्धको सफल उपचार पत्ता लगाउन यो उपाय सहायक सिद्ध हुने बताएका छन् ।
यी बिरामीलाई सन् २०१२ देखि हजकिन्स लिम्फोमा नामक क्यान्सर पनि देखिएको थियो । अहिले उनको क्यान्सर पनि निको हुने चरणमा छ । बेलायतको युनिभर्सिटी कलेज लन्डन, इम्पेरियल कलेज लन्डन, क्याम्ब्रिज र अक्सफर्ट विश्वविद्यालयका अनुसन्धानकर्ताहरु यो प्रक्रियामा संलग्न छन् । एजेन्सी
