देशभर बित्तिय पहुँच बढ्दो। ९५% स्थानीय तहमा वाणिज्य बैंकको शाखा बिस्तार
२०७५ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको संख्या १५७ र ती संस्थाहरूका शाखा संख्या ७,७३१ पुगेको छ । २०७५ असार मसान्तमा यस्तो संख्या क्रमशः १५१ र ६,६५१ रहेको थियो । २०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या ७,५९१ पुगेकोमा माघ महिनामा मात्र १४० वटा शाखा बढेको देखिएको छ । २०७५ माघ मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ७२ लघु वित्त वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् ।

देशका ७५३ स्थानीय तहहरूमध्ये २०७५ माघ मसान्तमा ७११ स्थानीय तहहरूमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ । २०७५ असार मसान्तमा ६३१ स्थानीय तहमा बैंक शाखा पुगेको थियो । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया सुरु गरिए पश्चात् २०७५ माघ मसान्तसम्ममा कुल १६४ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । ती मध्ये १२२ वटा संस्थाहरूको इजाजत खारेज हुन गई कुल ४२ संस्था कायम भएका छन् ।

सौजन्यः नेपाल राष्ट्र बैंक
