किन हुन्छ पिनास ? राेगका लक्षणहरू र उपचार पद्धति बारे जानि राखाै

Investopaper, भाद्र ०९, २०७६

हामीमध्ये धेरैलाई जीवनमा कुनै न कुनै बेला पिनासले सताएकै हुन्छ। अझ कोही–कोही त पिनासको दीर्घरोगी नै हुन्छन्। चिसो मौसममा पिनास हुने जोखिम अरू बेलाभन्दा ज्यादा हुने चिकित्सक बताउँछन्।

वीर अस्पतालको नाक, कान तथा घाँटी विभागका अनुसार उपचारमा आएका मध्ये १५ प्रतिशत बिरामी पिनासको समस्या लिएर आउँछन्। विभागका प्रमुख डा. ढुण्डीराज पौडेलका अनुसार पहिले–पहिले रुघाखोकी लागे पनि समयमै उपचार नगर्ने कारण पिनास हुनेको संख्या धेरै हुन्थ्यो। तर पछिल्लो समय रुघाखोकी लाग्नेबित्तिकै उपचार गर्ने चलन बढेकाले पिनास हुनेको दर घटेको उनको अनुमान छ।

मौसम परिवर्तन हुने बेला र चिसो वातवरणमा किटाणु बढी सक्रिय हुन्छन्। जसका कारण रुघाखोकी लागिरहने हुन्छ। त्यस क्रममा पिनास हुने सम्भावना बढ्ने चिकित्सक बताउँछन्।

के हो पिनास ?

नाकसँग जोडिएको हड्डी भित्र खोपिल्टो हुन्छ। यसलाई चिकित्सा विज्ञानमा साइनस भनिन्छ। रुघा बिग्रेर साइनसभित्र संक्रमण हुन पुग्ने अवस्थालाई पिनास भनिन्छ।  बाहिरी वातवरणसँग नाकको सम्बन्ध सीधा र धेरै हुन्छ। मौसम परिवर्तन हुने बेला र चिसो वातवरणमा किटाणु बढी सक्रिय हुन्छन्। जसका कारण रुघाखोकी लागिरहने हुन्छ। त्यस क्रममा पिनास हुने सम्भावना बढ्ने वीर अस्पताल नाक–कान तथा घाँटी विभागका प्रमुख डा. पौडेल बताउँछन्।

‘मौसम परिवर्तन हुने क्रममा वातवरणमा रुघाखोकीका भाइरस बढी सक्रिय हुन्छन्, त्यसकारण जाडोमा रुघा धेरै लाग्छ,’ उनले भने, ‘रुघा धेरै लागेपछि नै पिनास हुने जोखिम पनि बढ्ने हो।’

डा.पौडेलका अनुसार जब वातवरणमा रुघ लगाउने किटाणु ज्यादा हुन्छन् तब ती नाकका प्वाल हुँदै साइनस (खोपिल्टो) सम्म पुग्छन्। कसैलाई रुघा लागिरहने एलर्जी छ र पटक–पटक रुघा लागिरहन्छ भने उसलाई पिनास हुन्छ। वातवरणाीय एलर्जीले पनि रुघा लागिरहने हुन्छ र पछि गएर पिनास बन्छ।

पिनास हुने दोस्रो कारण हो, रोगसँग लड्ने शरीरको प्रतिरक्षा क्षमता कमजोर हुनु। यस्तो क्षमता कमजोर भएका व्यक्तिलाई रुघा लागिसकेपछि चाँडै निको हुँदैन। यस्ता बिरामीलाई एन्टिबायोटिकले पनि सजिलै काम गर्दैन र रुघाखोकी लम्बिएर संक्रमण साइनससम्म पुग्छ। यस्तो अवस्थामा पिनास हुन्छ।

पिनास हुने तेस्रो कारण हो, नाकको हड्डी बांगो हुनु। नाकको डाँडी लामो भएका व्यक्तिहरूको नाकको हड्डी बांगो हुन्छ। यस्तो हड्डी जतापट्टि बांगो भएको हो, त्यतापट्टि नाकको प्वाल सानो हुन्छ। यस्तो प्वालबाट हावा आवतजावत राम्रो हुन सकेन भने किटाणु प्रवेश गर्छन्। यस्तो अवस्थामा पनि साइनसमा संक्रमण भइ पिनास हुन्छ।

हाम्रो वातवरणमा किटाणु बढी हुनुका कारण रुघा लागिरहने भएकाले हामी सबै पिनासको जोखिममा रहेको डा. पौडेल बताउँछन्। तसर्थ सकेसम्म व्यक्तिगत सफाइमा ध्यान दिने, बाहिर हिँड्दा भरपर्दो मास्कको प्रयोग गर्ने गरेर रुघा लाग्नबाट बच्नुपर्छ। कारणवश रुघा लागिहालेमा पनि यसको छिटो र उचित उपचार गर्नुपर्छ।

सानोमा कुपोषण भएका तथा पछि गएर कुपोषण भएका व्यक्तिमा पनि रुघाखोकीको संक्रमण बढी हुने र सामान्य उपचारले निको नहुने डा. पौडेल बताउँछन्।

यस्ता व्यक्तिले आफ्नो स्वास्थ्यको विशेष हेरचाह गर्ने र पोषणयुक्त खानपान गरेर शरीरको रोग प्रतिरोध क्षमता बढाउन सकिने उनी सल्लाह दिन्छन्। अर्काे कुरा, रुघाखोकी लागिहालेमा तथा पिनास भइहालेमा त्यसको बेलैमा उपचार गर्नु यसको असरबाट बच्ने अर्काे उपाय भएको डा. पौडेल बताउँछन्।

उपचार

नेपालमा पिनासको उपचार निजी तथा सरकारी सबै अस्पतालमा हुन्छ। काठमाडौंमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, निजी मेडिकल कलेज तथा अस्पतालमा यसको शल्यक्रिया हुन्छ।

कतिपय अवस्थामा एन्टिबायोटिक औषधिको प्रयोगले पनि पिनास निको हुने डा. पौडेल बताउँछन्। तर रुघाखोकी लाग्यो भन्दैमा आफूखुसी औषधि सेवन गर्नु भने उचित नहुने चिकित्सक बताउँछन्। एन्टिबोयोटिकले निको नभएपछि मात्र नाकको हड्डी शल्यक्रिया गरिन्छ। एलर्जी समस्या भएका बिरामीले भने चिकित्सकको सिफारिसमा लामो समय औषधि खानुपर्छ। सँगसँगै आफूलाई कुन कुराले एलर्जी हुन्छ त्यो पत्ता लगाएर त्यसबाट बच्नुपर्छ।

चिकित्सकका अन्ुसार  नाकको हड्डी बांगो भएका कारणले पिनास भएको हो भने त्यसको शल्यक्रिया गर्न सकिन्छ। शरीरको रोग प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूले भने चिकित्सकको सल्लाहमा केही बढी समय नियमित एन्टिबायोटिक सेवन गरेर पिनास निको पार्न सकिन्छ।

रोगसँग लड्ने शरीरको प्रतिरक्षा क्षमता कमजोर भएकालाई बढी रुघा लाग्छ। प्रतिरक्षा बलियो भएकालाई कम लाग्छ। बारम्बार रुघा लागेपछि पिपमा परिणत भएर प्वालमा भरिन्छ। टाउको दुख्ने, नाक बन्द हुने, नाकबाट बाग्लो सिंगान बग्ने, मुखबाट खकार निस्कने, अनुहार दुख्ने, खोकी लागिरहने, नाकले केही थाहा नपाउने जस्ता लक्षण देखिन्छन्।

समयमै पिनासको उपचार नभए यसले जटिल रूप लिने चिकित्सक बताउँछन्। नाकको बाटो हुँदै पिनासको पिप मस्तिष्कमा पुग्न सक्छ। मस्तिष्कमा पिप जम्यो भने ब्रेन एक्सिस (मस्तिष्कमा संक्रमण) र मेनेन्जाइटिस हुन्छ।  साथै निमोनिया हुने, आँखामा खराबी आउने, साइनस मक्किने समेत हुन्छ।

पिनासका लक्षणहरू

– टाउको दुख्ने
– अनुहारका भागहरू दुख्ने
– नाक बन्द हुने
– नाकबाट बाक्लो सिंगान बग्ने
– मुखबाट खकार आउने  
– खोकी लागिरहने
– नाकले कुनै बास्ना/गन्ध थाहा नपाउने

  • अन्नपूर्ण पाेष्टबाट
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *