समुद्री छालका कारण भेनिस जलमग्नः २ जनाकाे मृत्यु
Investopaper, कार्तिक २८, २०७६
भेनिस — समुद्री छालका कारण इटालीको पर्यटकीय सहर भेनिस जलमग्न भएको छ । बुधबार आएको छालका कारण कम्तीमा दुई जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इटालीको पर्यटकीय सहर भेनिसमा समुद्री छालले गरेको क्षतिको अवलोकन गर्ने क्रममा मेयर लुइगी ब्रुगनारो ।तस्बिर : रोयटर्स
अधिकारीहरूका अनुसार बुधबार आएको समुद्री छाल ५ दशकयताकै ठूलो हो । छाल अनुमगन निकायका अनुसार भेनिसमा बुधबार जमिनको सतहभन्दा १.८७ मिटर (करिब ६ फिट) माथिसम्म पानी जम्मा भएको हो ।
भेनिसमा सन् १९२३ देखि पानीको छाल मापन गर्न थालिएको हो । त्यसयताको यो दोस्रो ठूलो छाल हो । सन् १९६६ मा सहरमा पानीको छाल १.९४ मिटरसम्म पुगेको थियो ।
भेनिसका ताजा तस्बिरहरूमा पानीले मुख्य पर्यटकीय क्षेत्रहरू प्रभावित भएपछि पर्यटक अन्योलमा देखिन्छन् । कतिपय पर्यटक सकिन नसकी आफ्ना झोला बोकेर जलमग्न स्थानबाट गन्तव्यतर्फ गइरहेका देखिन्छन् ।
बीबीसीका अनुसार सहरको मुख्य पर्यटकीय क्षेत्र सेन्ट मार्क स्क्वायर सबैभन्दा बढी प्रभावित भएको छ । सरकारी तथ्यांकअनुसार मार्कको बासिलीका १ हजार २ सय वर्षमा छैटौं पटक डुबानमा परेको हो । त्यसमा २० वर्षयता नै चार पटक डुबान भएको हो ।
इटालीको उत्तर–पूर्वी तटमा रहेको भेनिस सय वटा विभिन्न टापुले बनेको हो ।
— एजेन्सी
