महशुल भुक्तानी, रिचार्ज र ब्यालेन्स ट्रान्सफरमा टेलिकमले ल्यायो नयाँ ब्यबस्था

इन्भेष्टोपेपर । चैत्र १९, २०७६

नेपाल टेलिकमले विद्युतीय माध्यमबाट गरिने महशुल भुक्तानी, व्यालेन्स टपअप तथा व्यालेन्स ट्रान्सफरकाे व्यवस्थामा केही परिमार्जन गरेको जनाएको छ ।

टेलिकमले लकडाउनको बेला रिचार्ज कार्ड बिक्री हुने स्थानसम्म पुग्न ग्राहकलाई कठिनाई हुनसक्ने भएकोले सहज होस् भन्ने उद्देश्यले विद्युतीय माध्यमबाट गरिने भुक्तानी तथा टपअपको व्यवस्थामा केही परिमार्जन गरेको जनाएको हो । यी विकल्पहरू सम्वन्धी सम्पूर्ण जानकारी कम्पनीकाे वेवसाइट https://www.ntc.net.np/post/online-topup मा उपलव्ध गराइएकाे छ ।

टेलिकमले महशुल भुक्तानी, ब्यालेन्स टपअप र ब्यालेन्स ट्रान्सफरमा देहाय बमाेजिम परिमार्जन गरिएकाे जनाएकाे छ ।

मोबाइल भुक्तानी सेवा (MPOS) तथा KIOSK मेसिन

यस अन्तर्गत कम्पनीका आधिकारिक MPOS सेवा प्रदायकहरु (जस्तै स्टेशनरी पसल, किराना पसल, पत्रिका पसल आदि) तथा सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसरमा जडान गरिएका KIOSK मेसिनहरुमा गई कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ ।

विभिन्न भुक्तानी सेवाका एपहरु

यस अन्तर्गत भुक्तानी सेवा प्रदायकहरु (जस्तै ईसेवा, खल्ती, आईएमई पे आदि) का एपहरु प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ ।

विभिन्न बैकका अनलाइन तथा मोबाइल बैकिंङ सेवाहरु

यसका लागि आफ्नो खाता भएका बैकबाट अनलाइन बैंकिंग वा मोबाइल बैंकिंगको सुविधा लिई सोही बंैकको वेबसाइट वा मोबाइल एप प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ ।

विभिन्न बैंकका भिसा मास्टर कार्डहरु

चलनचल्तीको भाषामा डेविट कार्ड, क्रेडिट कार्ड वा एटिएम कार्ड भनिने यी कार्डहरुको प्रयोग गरी कम्पनीको जीएसएम मोबाइल सेवाको महशुल भुक्तानी तथा टपअप गर्न https://cardpay.ntc.net.np/ मा लगअन गर्नुपर्दछ । सो पश्चात् आफूले रिचार्ज गर्न चाहेको मोबाइल नम्बर टाइप गरी रिचार्ज गर्न चाहेको रकम छान्नु पर्दछ । त्यसपछि आफ्नो कार्ड नम्बर, कार्डको अवधि समाप्त हुने मिति, कार्ड होल्डरको नाम र CVV (अर्थात् कार्डको पछिल्लो भागमा छापिएको तीन अंक) तथा इमेल टाइप गरी oगर्नुपर्दछ । साथै, यस प्रक्रियामा ‘क्याप्चा’ र आफ्नो मोबाइल÷इमेलमा आउने ६ अंकको कोड पनि प्रयोग गर्नुपर्दछ ।

यसको अलावा टेलिकमले व्यालेन्स ट्रान्सफरको व्यवस्थालाई परिमार्जन गरेको जनाएको छ । हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा अर्को पोस्टपेड मोबाइलमा USSD कोडमार्फत एक दिनमा बढीमा पाँच पटकसम्म र प्रत्येक पटक अधिकतम एकसय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था रहेकोमा परिमार्जित व्यवस्था अनुसार एक दिनमा बढीमा दश पटकसम्म र एक पटकमा दश रुपैयाँदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिनेछ ।

यसका लागि मोबाइलबाट *422*SCode*MobileNumber*AmountInRupees# डायल गर्नु पर्दछ भने यसमा उल्लेख गरिएको SCODE (सेक्युरिटी कोड) प्राप्त गर्न SCODE टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्दछ । उदाहरणका लागि व्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर ९८४१xxxxxx मा रु. २०० ट्रान्सफर गर्न *422*SCode*9841xxxxxx*200# डायल गर्नु पर्दछ । USSD कोडको अलावा नेपाल टेलिकमको मोबाइल एप बाट पनि व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।

यसरी व्यालेन्स ट्रान्सफर गरेपछि रकम पठाउने र रकम प्राप्त गर्ने दुबै नम्बरमा ट्रान्सफर गरिएको रकम सहितको सन्देश १४१५ बाट एसएमएस अलर्टको रुपमा प्राप्त हुन्छ ।

कम्पनीका सेवाहरुको महशुल भुक्तानीका विकल्पहरु र व्यालेन्स ट्रान्सफरमा गरिएको परिमार्जनबाट कोरोना भाइरसको कारणले सिर्जित हालको विषम परिस्थितिमा पनि कम्पनीका ग्राहकवर्गलाई सञ्चारको सुविधा उपयोग गर्न सहज हुने कम्पनीको विश्वास रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *