अंपुन चक्रवातका कारण देशभरि मेघगर्जनसहित वर्षा
इन्भेष्टोपेपर । जेष्ठ ०६ २०७७
काठमाडौं । चक्रवात अंपुनको प्रभावले आगामी तीन दिन देशभरि बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दक्षिण बङ्गालको खाडीको मध्यभागमा अंपुन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातका रूपमा विकसित भइसकेको छ । उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा आजदेखि पूर्वी नेपालको मौसम बदली हुने जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि अंपुन चक्रवातको प्रभावले देशैभरि बदली भइ केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपातसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
उक्त प्रणालीको प्रभावले बुधबारदेखि देशैभरि बदली भइ मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “शुक्रबारसम्म देशभर सो प्रणालीको प्रभावले वर्षा हुने र वर्षा प्रिमनसुनको जस्तो भइ निरन्तर भइरहने छ”, मौसमविद् मानन्धरले भन्नुभयो ।
नेपालको सन्दर्भमा अंपुन (AMPHAN) चक्रवातको प्रत्यक्ष प्रभाव नरहेपनि यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरि पूर्व र मध्य क्षेत्रको मौसम आगामि ३-४ दिन सम्म प्रभावित हुनेछ। पूर्व र मध्य क्षेत्रमा केहि स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने छ भने पूर्व र मध्य क्षेत्रमा खोलानालाहरुमा जलप्रवाहमा समेत बढोत्तरि हुने सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
जेठ ६ गते (मंगलबार)
दिउँसोः देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली रहनेछ।मध्य तथा पूर्वी भू-भागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्वी भू-भागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
जेठ ७ गते (बुधबार)
दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली रहनेछ।मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।मध्य तथा पूर्वी भू-भागका केही र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
जेठ ८ गते (बिहीबार)
दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा पूर्ण बदली रही पश्चिम भू-भागहरुमा सामान्य बदली रहनेछ।मध्य तथा पूर्वी भू-भागका केही र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीः देशको मध्य तथा पूर्वी भू-भागहरुमा पूर्ण बदली रही पश्चिम भू-भागहरुमा सामान्य बदली रहनेछ।मध्य तथा पूर्वी भू-भागका केही र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
