अनाैठाे ! नाै बर्षकाे उमेरमा विश्वविद्यालयको अध्ययन पूरा
Investopaper, मंसिर १५, २०७६
उनी प्राथमिक विद्यालय जाँदा चार वर्षका थिए तर उनका त्यतिबेलाका सहपाठीहरू माध्यमिक कक्षामा पढ्दै गर्दा नाै बर्षीय लराँ सिमोन्सले विश्वविद्यालयको अध्ययन पूरा गर्दैछन्।
बेल्जियमका सिमोन्सले पहिलो कक्षाको पढाइ सक्न एक वर्ष लगाए। त्यसपछि उनी धेरै छिटो सिक्न थाले र अर्को वर्ष उनी दुईबाट छ कक्षामा गए। छ वर्षको उमेरमा उनी माध्यामिक विद्यालय गए र छ वर्षको पढाइ १८ महिनामा पूरा गरे।
त्यसपछि छोटो समय विश्राम लिन उनले आठ वर्षको उमेरमा उनले छ महिना घरमै बिताए।
आठ महिनाअघि विश्वविद्यालय गएका उनी डिसेम्बरमा दीक्षित हुँदैछन्। नौ महिना अध्ययन गरेपश्चात उनले आउने डिसेम्बरमा इलेक्ट्रिकल इन्जिनियरिङमा डिग्री हासिल गर्दैछन्।
आफूलाई अध्ययनमा यस्तो सफलता कसरी मिल्यो उनलाई थाहा छैन। बीबीसीको न्यूजडे कार्यक्रमले उनलाई नौ वर्षमा डिग्री कसरी पाउन सफल भए भनेर सोध्दा उनले भने, “मलाई थाहै छैन।”
वास्तवमा उनको तीक्ष्ण बुद्धिको पहिचान उनका हजुरबुबा र हजुरआमाले नै गरेका थिए। त्यतिबेला उनी विद्यालय भर्ना पनि भएका थिएनन्। “हजुरबुबा र हजुरआमाले उनलाई हुर्काएका हुन् र उनीहरूले लराँमा विलक्षण प्रतिभा भएको उनीहरूले नै पत्ता लगाएका हुन्,” लराँका बुवा अलेक्जान्डर सिमोन्स भन्छन्।

कृत्रिम अङ्गको विकास गर्दै मानव आयु बढाउने र जीवनको गुणस्तर बढाउने उनको उद्देश्य हो। “म मानवको आयु बढाउन चाहन्छु। मेरा हजुरबुवा र हजुरआमाको आयु पनि बढाउन चाहन्छु,” उनी भन्छन्।
उनको स्मरणशक्ति एकदमै बलियो थियो र उनको तीक्ष्णता मापन गर्दा उनले १४५ आईक्यू स्कोर पाए। उनको विश्लेषणात्मक क्षमता पनि गजब नै पाइयो। उनलाई गणित र विज्ञानमा रुचि थियो र पछि भाषाहरूमा पनि चासो दिन थाले।
उनको दैनिकी कठोर लाग्छ। “सोमवार उनी पढाइको परिचय लिन्छन्, मङ्गलवार प्रयोगशालामा जान्छन्, बुधवार उनी अध्ययनमा लीन हुन्छन् र आठ घन्टासम्म पढ्छन्। बिहीवार शिक्षकहरूलाई भेटेर प्रश्न सोध्छन् र शुक्रवार परीक्षा दिन्छन्,” उनका बुवाले भने।
“अरू विद्यार्थीलाई उनको यो चक्र पूरा गर्न १२ हप्ता लाग्छ।”
— बीबीसीबाट
