अन्ततः कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल धितोपत्र बोर्डले पनि गर्याे निर्णय (विज्ञप्ति सहित)
Investopaper, Jan 3, 2019
नेपाल राष्ट्र वैकले कार्यदलले दिएका धेरैजसा सुझावहरू कार्यान्वयन गरिसकेकाे अवस्थामा नेपाल धितोपत्र बोर्डले सुझावहरू कार्यान्वयन गर्न ढिलाइ गरिरहेका भनि चाैतर्फि अालाेचना र शेयर लगानी दवाव समुहले बोर्ड घेराका कार्यक्रम नै बनाएका थिए ।
नेपाल धितोपत्र बोर्डकाे यही पाैष १५ र १६ गते बसेका वैठकले मुद्रा तथा पूँजी बजारका बिषयमा अध्ययन गर्न गठित कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयनमा ल्याउन पहल थालेको छ । बोर्डले उक्त प्रतिवेदनमा उल्लेख भएका सुझावहरु कार्यान्वयन गर्न नेप्से र सिडिएससीलाई निर्देशन दिएको छ । साथै नेपाल धितोपत्र बोर्ड अफैले कार्यान्वयन गर्नुपर्ने कामहरू पनि डेडलाइन ताेकेर गर्ने भएकाे छ ।
नेप्सेलाई दिएका निर्देशनहरू :-
धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जलाई ५ वटा निर्देशन दिएकाे छ ।
- तोकिएको मापदण्ड पूरा गर्ने वाणिज्य बैंकहरुलाई सहायक कम्पनीमार्फत शेयर खरिद बिक्रीगर्न पाउने गरी अनुमतिपत्र प्रदान गर्न निर्देशन दिएको छ । यस अघि दिएको निर्देशन अनुसार संघीय संरचना अनुसार काठमाडौं उपत्यका बाहेकका स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमति प्रदान गर्न आवश्यक कार्य अगाडि बढाउन समेत भनेको छ ।
- नेप्से सूचकमा लाग्ने सर्किट ब्रेकरलाई समसामयिक बनाउनको लागि अन्तर्राष्ट्रियरुपमा भएका अभ्यासलाई अध्ययन गर्दै प्रतिवेदन तयार गरी र त्यसलाई बोर्डमा पेश गर्न नेप्सेलाई निर्देशन दिएको छ। बजार प्रभावित पार्ने प्रवृत्तिलाई निरुत्साहित पार्नका लागि सूचकांक घट्दा र बढ्दा हुने चलखेलको अन्त्यको लागि अध्ययन गर्न निर्देशन दिएको हो।
- नेपाल धितोपत्र बोर्डले लगानीकर्ता सुरक्षण कोष स्थापना गर्न निर्देशन दिएको छ । बजारका लगानीकर्ताहरूको हित संरक्षणका लागि विद्यमान कानुनी व्यवस्थाको समीक्षा गरी २०७५ चैत्रसम्ममा कार्यान्वयनमा ल्याउने गरी बोर्डमा पेस गर्न नेप्सेलाई निर्देशन दिएको हो ।
- साथै ओटिसी बजारलाई गतिशील बनाउन २०७५ चैत्रसम्ममा प्रविधिमैत्री बनाउन स्वचालित प्रणाली अपनाउन आवश्यक कार्य अगाडि बढाउन निर्देशन दिएको छ ।
- धितोपत्र बोर्डले बजार निर्माताका लागि बोर्डमा सिफारिस गर्न नेप्सेलाई निर्देशन दिएको छ । कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीहरूलाई बजार निर्माता तथा व्यापारीका रूपमा समेत कार्य गर्ने अनुमति प्रदान गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई निर्देशन :-
यसैगरी बोर्डले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई २ वटा निर्देशन दिएकाे छ ।
- नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोस्रो बजार कारोबारको भुक्तानी सुनिश्चितताका लागि आवश्यक भुक्तानी सुनिश्चित कोष स्थापनाको व्यवस्था गर्न सिडिएस एन्ड क्लियरिङलाई निर्देशन दिएको छ ।
- त्यस्तै, शेयर बजारमा हुने कारोवारलाई थप प्रभावकारी बनाउन राफसाफ चक्रलाई २०७६ असारसम्ममा ‘टि प्लस वान’मा ल्याउनका लागि आवश्यक संशोधनका लागि बोर्डमा सिफारिस गर्नसमेत निर्देशन दिएको छ ।
बोर्ड आफैँले कार्यान्वयन गर्न लागेका काम :-
- बोर्डले भित्री कारोबार बन्देज नियमावलीको मस्यौदा तयार गरेको जनाएको छ । स्वीकृतिका लागि यथाशीघ्र अर्थ मनत्रालयमा पेश गर्ने जनाएका छ ।
- क्रेडिट रेटिङ्ग संस्थाबाट न्यूनतम ग्रेड भन्दा माथिल्लो ग्रेड वा रेटिङ्ग प्राप्त गरेका संगठित संस्थाहरुलाई मात्र सार्वजनिक निष्काशन अनुमति प्रदान गर्ने व्यवस्था गर्न लागिएको जनाएको छ ।
- त्यस्तै ऋणपत्रको दोस्रो कारोवारलाई थप व्यवस्थि गर्न संगठित संस्थाले ऋणपत्र जारी गर्दा जारी रकमको कम्तिमा ४० प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तिलाई बिक्री वितरण गर्नुपर्ने व्यवस्था गर्न लागेको बताएको छ । धितोपत्रको थप सार्वजनिक निष्काशन गर्दा संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थ भन्दा बढी नहुने गरी प्रिमियम मूल्य निर्धारण गर्नुपर्ने र प्रिमियममा प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा प्रिमियम मूल्य संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थको दुई गुणा भन्दा बढी नहुने गरी निष्काशन गर्न सक्ने व्यवस्था गर्न धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा गरिने संशोधनको मस्यौदा तयार गरी बोर्ड बैठकमा प्रतुत भई बैठकवाट प्रवलिकरण समितिमा अन्तिम रुप दिई शीघ्र पेश गर्नका लागि पठाइएको पनि बोर्डले जनाएको छ ।
- धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन धितोपत्र दलाल व्यवसायी सम्वन्धी विद्यमान इजाजत र संचालन नीतिमा पुनरावलोकन गर्न, वाणिज्य वैंकको सहायक कम्पनी तथा धितोपत्र दलाल व्यवसायीले अर्को धितोपत्र दलाल व्यवसायीलाई प्राप्ति गर्ने र गाभ्ने/गाभिने, सम्बन्धमा नीतिगत व्यवस्था गर्न धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता) नियमावली, २०६४ मा गर्नुपर्ने संशोधनको अध्ययन भई मस्यौदा वनाउने क्रममा रहेको बोर्डले उल्लेख गरेको छ ।
- स्वचालित प्रणाली लागू भए पश्च्यात धिताेपत्र व्यवसायीले लिने सेवाशुल्कमा के कस्ता पुनरावलाेकन गर्न सकिन्छ भनि अध्ययन भैरहेकाे जनाएकाे छ ।
- सर्वसाधारण लगानीकर्ताहरुको हित संरक्षण गर्न वास्तविक क्षेत्रका संगठित संस्थाका संस्थापकहरुले लिएको संस्थापक शेयरको लक इन पिरियड लाई अन्य वित्तीय क्षेत्रको नियमनकारी निकायले गरेको व्यवस्थासँग सामञ्जस्यता ल्याउन अध्ययन गर्ने क्रममा रहेको पनि बोर्डले जनाएको छ ।
- धितोपत्रको थप सार्वजनिक निष्काशन अनुमतिसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने, बुक बिल्डिङ प्रणाली लागू गर्न लागिएको समेत बोर्डले जानकारी दिएको छ ।
- धिताेपत्र व्यवसायीहरूले लगानीकर्ता साक्षरता अभिवृद्धी गर्न मुनाफाकाे १ प्रतिशत रकम सिअारएस वापत छुट्याउनु पर्ने बारे अध्ययन भैरहेका जनाएकाे छ ।
- पूर्ण पाठका लागि यहां Sebon press release क्लिक गर्नुहाेस ।