आखिर किन घटिरहेछ शेयरवजार ?
- कुल थापा / INVESTOPAPER
पृष्ठभुमीः
शेयरबजारलाइ विश्वव्यापी रुपमा सामान्य स्थापित मान्यता अनुरुप देशको अर्थतन्त्र वा आर्थिक विकासको ऐनाको रुपमा परीभाषित गरीदै आएको छ । अर्थतन्त्र मौलाउदै गर्दा शेयर बजार पनि उकालो लाग्दै जान्छ र वृहत आर्थिक विकासको लागि आवश्यक पर्ने छरिएर रहेको पूंजी एकत्रित भै आर्थिक गतिविधि तिव्रतर रुपमा संचालन गर्न टेवा दिन्छ । धेरै ठूला ठूला परियोजना भएपनि र ज्यादै न्यून पूंजी भए पनि पब्लीक, कर्मचारीहरुले शेयरको रुपमा लगानी गरी मालिकको एहसास हुनु वा अपनत्व सृजना हुनु उक्त परियोजना वा कम्पनीको लागी अत्यन्त बलियो साथ हो । जनजनबाट शेयर लगानीमा उत्साहपूर्वक साथ पाएका कम्पनिहरुले पनि सधै गौरवको महसुस गर्छन । गाउंगाउंसम्म शेयरको रौनक पुर्र्याउन सफल कृषि विकास बैंकलाई ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ । तत्पश्चात शेयरवजारमा पब्लिक सहभागिता थाम्नै नसक्ने गरी भैरहेको छ र अरबौं रुपिया लगानी पनि भएको छ ।
विश्वमै शेयरबजार चलायमान नै हुन्छ, दिनहुंजसो बढिरहेको वा घटिरहेको हुन्छ । यसरी शेयरबजार बढ्नु र घट्नुमा केही विशिष्ट कारणहरु र आधारहरु हुन्छन्, जसलाई टेकेर शेयरबजार चलायमान हुन्छ भने परिपक्क बजारको रुपमा ग्रहण गर्नुपर्दछ । बजारु हल्लाकै भरमा वजार चलायमान भएकोखण्डमा फाइदा कसलाइ ? नेपालको शेयर बजारको उतारचढाव बारे कुुरा गरौ न त ।
१) पूर्वाधारको विकासः
नेपालमा शेयर बजारको इतिहास त्यति लामो नभएपनि २५ बर्ष अघि (२०५०माघ २९) बाट बोलकबोल (Open Cry-out System) बाट शेयरको खरीद बिक्री शुरु भएकोमा २०६४ भाद्र ७ गते देखि स्वचालित कम्प्युटर रहित कारोबार शुरु भएको पाइन्छ । यस वीचमा धेरै ऐन निर्माण देखि कारोबार समय समेत २ घण्टा बाट ४ घण्टामा विस्तारीत गरीएको छ । अरु दलाल थप्ने देखि घरबाटै शेयर भर्न सकिने ASBA System तथा Online trading समेतको शुरुवात हुनुलाई निकै उत्साहप्रद विकासक्रम मान्नुपर्दछ । विभिन्न म्युचुअल फण्डहरुको आगमन तथा अर्को एक स्टक एक्सचेञ्ज प्रवेश गराउने नीति, बैकहरुलाई कारोबारमा संलग्न गराउने बिषयको उठान भैरहेको अवस्थामा शेयरबजार ओरालो लाग्नु एक सोचनिय बिषय हो । पूर्वाधार र कानुनी सवलता बढीरहंदा शेयर बजारको उल्टो गतिलाई कसरी सामान्य मान्ने ?
२) राजनैतिक स्थिरताः
विश्व इतिहासमै जबजब देशमा राजनैतिक स्थिरता देखापर्छ शेयरबजार पनि बुम हुन्छ, अनि अस्थिरता संगै उतारचढाव । विगत समयमा देशमा दिगो राजनैतिक स्थिरता नहुंदा शेयर बजारमा सकारात्मक प्रभाव नपरेको भन्दै विश्लेषण गरीयो । तर आज पूर्ण बहुमतको सरकार भएकोले अवश्य शेयरबजारमा सकारात्मक लहर आउनु पर्नेहो तर यस्तो हुन सकिरहेको छैन । शेयरबजार प्रति सरकार अति मैत्री छ अरु झन विद्युतको शेयर त जनजनमा पुर्याई आर्थिक अवस्थामा आमुल परीवर्तन ल्याउने तथा गरीबि वेरोजगारी कम गर्ने घोषणा नै गरेकोछ । वर्तमान अर्थमन्त्री लगायत सबै भूतपूर्व अर्थमन्त्रीहरुले समेत शेयरबजारको विकास र आवश्यकता तथा अपरिअहर्यतालाई आत्मासाथ गरेको पाईन्छ । शेयर बजारलाई जुवाघर भन्ने पूर्व अर्थ तथा प्रधानमन्त्री पनि “बजारको विस्तार गाऊ गाऊ सम्म पुर्रयाउनु पर्दछ” भन्नु हुन्छ भने वर्तमान अर्थमन्त्री युवराज खतिवडा “देशलाई समृद्धीको पथमा अघि बढाउन पंूजी वजारको ठूलो महत्व छ” भन्नुहुन्छ । (हेर्नुहोस सेवोन रजतजयन्ती स्मारिका २०७५) यस्तो अवस्थामा शेयर वजार दैनन्दिक ओरालो लाग्नु विडम्वना हैन त ?
३) कम्पनीहरुको अवस्थाः
शेयरको मूल्य निर्धारण गर्ने सवैभन्दा अहम पक्ष भनेको कम्पनीहरुको अवस्था हो । नेपालमा रहेका समग्र कम्पनीहरुको मोटामोटी लेखाजोखा गर्दा र ती कम्पनीहरुले प्रकाशित गरेका प्रगति विवरणहरु हेर्दा एकाध बाहेक सवै राम्रो अवस्थामा चलिरहेको देखिन्छ । आन्तरिक सुशासन देखि भौतिक पूर्वाधार र वित्तिय अवस्थामा समेत परीपक्कता आएको, तुलनात्मक प्रगति विवरण सन्तोषजनक रहेको पाइन्छ । जव कम्पनी सुदृढ बन्दै गएको छ भने त्यसको मूल्यमा भारी गिरावट किन ? मुट्ठीभर लगानीकर्ताको चलखेलले त यस्तो भैरहेको छैन ? हैनभने यस्तो उल्टोगति किन ? यस्तो परीवेशमा छरिएररहेका साना लगानीकर्ताले सुझवुझकासाथ काम गर्नुपर्ने अपरिहार्यतालाई नकार्न सकिदैन । शेयरबजारमा बाहुल्यता रहेका बैंक तथा वित्त समूह मध्ये बैंकको पूंजीमा भारी बढोत्तरी भएकाले प्रतिशेयर आम्दानीमा झिनो गिरावट आए पनि अरु सबैं सुचकांकहरुमा उत्साहजनक प्रगति देखिन्छ, जुन कुरा प्रथम त्रयमासको प्रगति विवरणले पनि प्रष्ट पार्दछ । कम्पनीले प्रगति गरिरहेको परीप्रेक्षमा घट्दो शेयरबजार कतै कृत्रिम त हैन ? पैसाले पैसा तान्न पल्केका ठूला लगानीकर्ताको खेल त हैन ?
४) देशको आर्थिक अवस्थाः
“समृद्ध नेपाल, सुखी नेपाली” वर्तमान सरकारको प्रमुख नारा हो । देश संघियतामा गैसकेको, बहुमतको सरकार बनेको र राजनैतिक मुद्दाको ठाउ आर्थिक मुद्दाले लिएको अति विशिष्ट विद्यमान अवस्थामा नेपाल हिडिरहेको छ । वृहत आर्थिक गतिविधि सञ्चालन नगरी समृद्धी हासिल हुन सक्दैन । वैदेशिक लगानीका ठूला ठूला परियोजना सञ्चालनमा आइरहेका छन्, राष्ट्यि गौरवका आयोजनाहरुका कामले गति लिएको छ भने रियल सेक्टरमा कम्पनीहरुलाई पनि पब्लिक कम्पनिमा जानुपर्ने, सर्वसाधारणको लागी समेत शेयर इस्यू गर्ने क्रममा रहेकाले आर्थिक गतिविधहिरु वढीरहेकाछन । वर्तमानमा ६.१ प्रतिशत रहेको आर्थिक वृद्धीदर वढाउदै दुइ अंकमा पुर्याउने सरकारी लक्ष पूरागर्न पनि लगानी वढाउनुपर्ने नै हुन्छ । आर्थिक छलांगको लागि केही मेघा प्रोजेक्टहरु शुरुहुनु अत्यावश्यक छ । जलविद्युतका, रेलमार्ग र एअरपोर्ट जस्ता मेघा प्रोजेक्टहरु कार्यन्वयनमा आउदा हाम्रा आर्थिक गतिविधिहरु ह्वात्तै बढनेछन फलस्वरुप पूंजी वजारमा पनि सकारात्मक प्रभाव पार्नेछ ।
५) बजारु हल्लाः
यी माथि उल्लेखित आधारभूत कुराहरुको भरमा चल्नुपर्ने शेयर वजार कतै बजारु हल्लाको भरमा त चलिरहेको छैन ? स्वभाविक गतिमा नहिडेर एक्कासी उकालो लाग्ने र एक्कासी ओरालो लागीरहेको शेयरवजारलाइ बजारु हल्लाले वढी नै प्रभाव पारेजस्तो देखियो । कतिपय बजारु हल्लाहरु सूचनाको चुहावटले सृजना हुन्छन र स्वभाविकरुपले मूल्यमा असर देखिन्छ, जस्तै ….. कम्पनीको प्रगति राम्रो आउदै छ र लाभांश राम्रो दिदैछ भन्दा हलचल भैहाल्छ । कतिपय हल्लाहरु आफ्नो कुत्सित स्वार्थपूर्तिको लागी बनाइएका समूहवाट सृजना गरीन्छ र वजारमा चलखेल गरीन्छ ।
बेच्न पर्दा मूल्य वढछ भन्दै हल्ला फैलाउने
किन्न पर्ने छ भने वजार घटछ भन्दै डंका पिटने
बढीरहेको वजारलाइ ववलको संज्ञा दिने
घटिरहेको छ भने करेक्सन भनि दिने
यो हुदै छ, यस्तो हुदै छ भनिदिने । आदी इत्यादी ।
आखिर शेयर भनेको डेट एक्स्पाएर हुन लागेको न त औषधी वा खाद्य सामाग्री नै हो, न त मोडलअफ, सिजनअफ भएर सेलमा राखेको लत्ताकपडा । क्षणभरमै लाभ लिने आशामा ऋणधन गरेर जथाभावी खरीद गर्ने र अत्तालिएर बेच्दा डुव्न पुगेका मित्रहरु हाम्रै परिवेशमा देख्न सकिन्छ । तसर्थ आधारभूत कुरामा विश्वास राखौ न कि वजारु हल्लामा ।
(Like this article??? If you are also interested in publishing your articles related to business, finance and economics, then mail us your article on Investopaper@gmail.com.)
Critical analysis supported with fact. Good read!!