कविता — “छोरीको विलाप”

— हृदय लेकाली

छन्द :- शार्दूलविक्रीडित

सासू छिन् घरमा सदैव झगडा मच्चाउने देवती
गाली त्यो मुखको सुनेर मनमा काँडा उठेको अति ।
बोल्दैनन् घरकाअरू मसित नै एक्ली भएँ खै किन ?
कस्तो यो घरमा परेछु म त लौ भाग्यै फुटेको दिन ।।

गाँजाभाङ चरेसको छ लत छ्या स्वामी परे दुर्जन
रक्सी टन्न पिई सधै पशुसरी पिट्दा छ दुख्खी मन ।
सुम्ला चोट शरीरमा छ बहुतै देख्दैन दैवै किन ?
कस्तो यो घरमा परेछु म त लौ भाग्यै फुटेको दिन।।

आमाजू घरका छुरा वचनका गोली त के लाग्दछ
उस्तै छन् थुतुने नि नन्द घरका देखे भुतै भाग्दछ ।
छोरीका बहकावमा दिनदिनै सासू भकुर्छिन् किन ?
कस्तो यो घरमा परेछु म त लौ भाग्यै फुटेकाे दिन ।।

जेठाज्यू रकमी फटाह घरका धन्दा छ कालो धन
बाठा देवरको छ भ्रष्ट मति नै लोभी र पापी मन ।
कस्तो यो परिवार हो सब मिली खेदो छ मेरै किन
कस्तो यो घरमा परेछु म त लौ भाग्यै फुटेको दिन।।

पापीछन् घरका जहान सब ती बिज्नेछ बोली पनि
राक्षेसी छ मसान चाल चलनै गाह्रो छ बाँच्नै पनि ।
लाक्षी खप्परमा रहेछ अबला पत्नी बुहारी हुन ?
कस्तो यो घरमा परेछु म त लौ भाग्यै फुटेको दिन।।

हे बाबा म त जाकिएँ नरकमा डुब्दैछ चोला हगि
हे आमा म त भासिएँ बगरमा तिम्रो गुनासो छ कि ?
कन्या दान दियौ हतार नबुझी पापै त बोक्यो रिन
कस्तो यो घरमा परेँछु म त लौ भाग्यै फुटेको दिन ।।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *