कविता : जय दुर्गा माता

— नारद गाैतम

दुर्गा दुर्गतिनाशिनी भगवती शक्तिस्वरूपा तिमी ।
मायाकी प्रतिमूर्ति रक्षक तिमी हौ मातृरूपा तिमी ।।
पर्दा सङ्कट लोकमाथि करुणा राख्ने दया हौ तिमी ।
नानारूप लिई विपत्तिक्षणकी कल्याणकारी तिमी ।।
***
रौद्री भैकन दैत्यदानवहरू संहार गर्ने तिमी ।
सिर्जन्थ्यो जति रक्तबीज सब ती आहार गर्ने तिमी ।।
मारी दुर्गम लोकपीडक बली दुर्गा बनेकी तिमी ।
छप्क्यौ शुम्भनिशुम्भ देवगणले पूजा गरेकी तिमी ।।
***
गर्छ्यौ भद्र सधै भलो मन हुने हौ भद्रकाली तिमी ।
दिन्छ्यौ सिद्धि र लिन्छ साधक लिने हौ सिद्धिदात्री तिमी ।।
यी वाणी मनबुद्धिमूल पनि हौ हो नाम वागीश्वरी ।
तिम्रो शक्ति अपार सृष्टि सब हो पूज्या तिमी ईश्वरी ।।
***
रोगव्याधि अनेक नाश गर है सङ्कष्टमा छौं सब ।
बल्छी फाल्दछ काल जन्जिर तिमी लौ तोड आजै अब ।।
हाहाकार छ विश्वमा क्षति बढ्यो पीडा छ आक्रान्त छौं ।
आमा हौ जगदम्बिका भगवती छौं दीन दिग्भ्रान्त छौं ।।
***
अत्याचार छ ज्यादती छ अति नै छौं पूर्ण मर्माहत ।
छौं हामी असहाय छौं जलविना माछो पर्यो आपत ।।
कोरोना छ नि एकतर्फ र अरू स्वार्थीपनाको डर ।
लेऊ है अवतार हेर न यता जल्दैछ मेरो घर ।।
***
आऊ कष्ट हटाउने समय हो बेला भयो होस् कृपा ।
हामी खिन्न र रुग्ण चिन्तित बन्यौं केलाउनै छन् सुपा ।।
टुप्पा लाग्छ अनिष्ट छिन्कन पर्यो छिन्कन्न अर्को यहाँ ।
आऊ पार पट्याँसट्याँस अनि यो उड्ला र जाला जहाँ ।।
*****

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *