कविता – “यौद्धाको पुकार”
— हृदय लेकाली
चकमन्न रातमा
मेरो कुम्भकर्ण निँदलाई चिर्दै
एकाएक चिच्चाई रहेछन् बोलाहा झै
वीर भक्तिथापा,अमरसिँह थापा,बलभद्र कुँवर
कालु पाँडे अभिमानसिङ बस्न्यात
जोगाऊ जोगाऊ जोगाऊ
कालापानी ,लिपुलेक लिम्पियाधुरा
खायो खायो खायो
हाम्रो साँध सीमाको भूभाग
ग्वाँग्वाँति रुँदै भन्दैछन्
ए सारा नेपाली
जगाऊ तिम्रो सुताहा सरकार
उठाऊ तिम्रो निरो सरकार
देशको सीमाना चोइटिदैछ
मडारिदैछ कालो बादल
छापिदैछन् काला गनाउने स्याल हुँडारहरु
अरल्ली अरल्ली रुँदै भुइँ पिट्दै
भन्दैछन् एकाएक
जगाऊ काठमाण्डौ,सिँहदरबार,बालुवाटार
मेरो आँखा अगाडि देखाउँदै
कालापानी,लिपुलेक र लिम्पियाधुरा ।
र फेरि भन्दैछन्
यदि सरकार मौन रह्यो भने
यदि सरकार पहलै गरेन भने
यदि सरकार रमिते रह्यो भने
यदि सरकार अघि बढेन भने
यदि सरकार कदम चालेन भने
एकाएक लुटिनेछ
हाम्रो गौरव
हाम्रो पौरख
कालापानी,लिपुलेक लिम्पियाधुरा
डाँको छोडी रुँदैरुँदै भन्दैछन्
वीर भक्तिथापा अमरसिँह थापा,बलभद्र कुँवर
कालुु पाँडे अभिमानसिङ बस्न्यातहरु ……..।