काेराेना भाइरस : ‘अमेरिकामा कम्तीमा पनि ३६ हजारकाे ज्यान जाेगिन सक्थ्याे’

इन्भेष्टोपेपर ।  जेष्ठ ०९, २०७७

काठमाण्डाै – संयुक्त राज्य अमेरिकाले यदि समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान जाेगिन सक्ने भर्खरै गरिएको एक अनुसन्धानले देखाएको छ ।

अमेरिकाले मार्च १५ पछि नागरिकबीच सामाजिक दुरी कायम गर्न सकिने खालको नीति लिएको थियो । तर त्यसको दुई हप्ता अघिमात्र यस्तो नीति लिएको भए अमेरिकाका कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बचाउन सजिलो हुने अध्ययनले देखाएको छ । अमेरिकाको कोलम्बिया विश्वविद्यालयको मेलम्यान स्कुल अफ् पब्लिक हेल्थ साइन्सले भर्खरै मात्र गरेको एक अनुसन्धानमाा यस्तो तथ्य पत्ता लागेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकामा गत मार्च महिनाको पहिलो र दोस्रो हप्तामा धेरै मानिसमा यो कोरोना भाइरसको सङ्क्रमण बढेको देखिएको छ । यदि त्यति नै बेला लकडाउन या अरु नै केही नीति बनाएर नागरिकका बीचमा सामाजिक दुरी कायम गर्ने वातावरण बनाउन सकेको भए अहिले भएको अमेरिकीहरुको मृत्युमा कम्तीमा पनि ३६ हजारले कमी आउने अनुसन्धानले देखाएको छ ।

अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्याङ्क अनुसार अहिले अमेरिकामा १५ लाख ७७ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । त्यस्तै यहाँका ९४ हजार सात सयभन्दा बढीको ज्यान गएको छ ।

अमेरिकामा सामाजिक दुरी कायम गर्ने खालको सतर्कता अपनाउन र त्यस्तै लकडाउनजस्तै नीति सम्बन्धमा निर्णय गर्न दुई हप्ता ढिलो भएका कारण त्यहाँ बढी क्षति हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *