किर्गिस्तानकाे विजयी शुरूवातः नेपाल साेझाे सेटमा पराजित
Investopaper, भाद्र ०३, २०७६
एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा नेपालले खराब सुरुआत गरेको छ। लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भयो।
पहिलो सेट २५-२३ ले गुमाएको नेपाल दोस्रो र तेस्रो सेटमा पनि समान २५-२३ अंकले पछि परेको थियो। नेपाललाई हराएको किर्गिस्तान एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ।
सात टोली सम्मिलित प्रतियोगितामा समूह ‘ए’ मा नेपालसहित किर्गिस्तान र माल्दिभ्स छन्। त्यसैगरि समूह ‘बी’ मा साविकको विजेता तुर्कमिनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तान छन्। लिगकम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिता भदौ ७ सम्म सञ्चालन हुनेछ।
