च्याउ उत्पादनका लागि बहुउपयोगी ‘जुनकाओ’ प्रविधि नेपाल भित्र्याइँदै
Investopaper, कार्तिक १७, २०७६
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले च्याउ उत्पादनका लागि बहुउपयोगी मानिएको ‘जुनकाओ’ प्रविधि नेपालमा भित्र्याउने तयारी गरेको छ । जुनकाओ प्रोटिनयुक्त एक प्रकारको घाँस हो । यो घाँस च्याउ उत्पादनका लागि प्रयोग हुँदै आएको परालभन्दा निकै उपयोगी मानिन्छ ।
विश्वका १०५ वटा मुलुकमा सफल भइसकेको यो प्रविधि च्याउ खेती, चौपायाको घाँस, भूक्षय नियन्त्रण, हरियाली प्रवर्द्धन र इकोलोजिकल रिस्टोरेसनका लागि प्रयोग हुँदै आएको छ । दिगो विकासको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण योगदान गर्दै आएको यो प्रविधि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मा पनि सूचीकृत छ । सन् १९९४ मा यूएनडीपीले गरिबी निवारणका लागि बहुउपयोगी भन्दै यसलाई सूचीकृत गरेको हो । नास्ट र चीनको फुजियान एग्रिकल्चर एन्ड फरेस्ट्री विश्वविद्यालय (फापुबीच) प्रविधि हस्तान्तरणसम्बन्धी समझदारीअनुसार यो प्रविधि भित्र्याउन लागिएको हो ।
नास्टका तर्फबाट उपकुलपति सुनीलबाबु श्रेष्ठ र फापुका तर्फबाट उपाध्यक्ष हुवाङ्ग याङ्गहेले समझदारीपत्र हस्तान्तरण गरेका छन् । समझदारीपत्रमा चीनले जुनकाओ प्रविधि नेपालमा भित्र्याउन र लगानी खोज्न सहयोग गर्ने तथा अनुसन्धानात्मक कार्यमा भ्रमण आदानप्रदान गर्ने उल्लेख छ । चीनले १९९२ देखि यो प्रविधि अन्य मुलुकलाई हस्तान्तरण गर्दै आएको छ ।
उपकुलपति श्रेष्ठका अनुसार यो घाँस च्याउ उत्पादन, पशुपालन तथा पहिरो र माटो जोगाउनका लागि प्रयोग हुने गरेको छ । ‘एक हेक्टरमा रोपिएको जुनकाओबाट तीन/चार सय भेडा/बाख्रालाई पुग्ने घाँस उत्पादन हुन्छ,’ उनले भने, ‘यसको प्रयोग गरेर च्याउ खेती गर्दा एकै सिजनमा १० वर्गमिटरमा ३ सय किलोसम्म च्याउ उत्पादन गर्न सकिन्छ ।’
यो प्रविधिमार्फत् विभिन्न ५५ प्रजातिका च्याउ उत्पादन हुँदै आएको र एक हेक्टरमा १२ सयदेखि १५ सय टनसम्म च्याउ उत्पादन हुने उनले सुनाए । ८ मिटरसम्म अग्लो हुने जुनकाओलाई वर्षमा ३ देखि ६ पटकसम्म काट्न सकिन्छ । यसमा ११ देखि १७ प्रतिशतसम्म प्रोटिन हुन्छ । जुनकाओ प्रविधिले मुख्यत: गरिबी निवारण र वातावरण संरक्षणमा योगदान दिँदै आएको नास्टका सचिव एवं च्याउ विज्ञ महेशकुमार अधिकारीले बताए ।
नास्टले जुनकाओ प्रविधिसम्बन्धी तालिम लिन आफ्ना तीन वैज्ञानिकलाई चीन पठाएको छ । मंसिर अन्तिम साता चिनियाँ वैज्ञानिकको एक टोली नेपालमा आएर यससम्बन्धी तालिम दिने र परीक्षणका रूपमा नास्ट परिसरमा जुनकाओ रोप्ने तयारी छ । त्यसपछि हावापानी, भूगोल, माटोलगायत अन्य पर्यावरणीय अवस्थाको अध्ययन गर्ने नास्टले जनाएको छ । नेपालका लागि यो प्रजाति ‘एलियन स्पेसिस’ भएकाले यहाँको रैथाने वनस्पति/बिरुवाहरूलाई असर गर्ने/नगर्ने सम्बन्धमा पनि अध्ययन गरिनेछ ।
सन् १९८० को दशकको अन्त्यतिर फापुका प्रोफेसर लिन झ्याङ्सीले यो प्रविधि निर्माण गरेका थिए । ९७ प्रतिशत माटो र ८७ प्रतिशत पानी सोस्ने जुनकाओलाई चीनले आफ्नो १२ औं अन्तर्राष्ट्रिय गरिबी निवारण कार्यक्रममा यसलाई समावेश गरेको छ । फिजी र पपुवा न्युगिनीमा यो प्रविधिले त्यहाँका मानिसको जीवनस्तर उकास्न धेरै सहयोग गरेको उपकुलपति श्रेष्ठले बताए । याे समाचार आजकाे कान्तिुर दैनिकमा गाेविन्द पाेखरेलले लेख्नु भएकाे छ ।
