टेलिकमको प्रबन्ध निर्देशकमा डिल्ली अधिकारी नियुक्त
Investopaper, Jan 06, 2019
काठमाडौं : नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त हुनुभएकाे छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।
सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठित छनौट समितिले अन्तिम तीनजनामा नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
साउन २९ गते सरकारले कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि उक्त पद खाली थियो । पाँच महिनादेखि रिक्त रहेको उक्त पदमा अधिकारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी गराउनु भयाे । अधिकारी नेपाल टेलिकमकै दशौं तहमा कार्यरत कर्मचारी हुनुहुन्थ्याे ।