नाडेप लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिनः छुटाउनु त भएन ?
Investopaper, Jan 13, 2019
नाडेप लघुवित्तले हाल निष्काशन गरेको चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने पुस २९ गते आइतबार अन्तिम दिन रहेको छ। लघुवित्तले मंसिर २३ गतेदेखि १६ लाख कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेकोले हकप्रद शेयर भर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नक्साल तथा नाडेप लघुवित्तको केन्द्रीय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन बुझाउन सकिने व्यवस्था गरिएको छ । साथै आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सकिने छ ।
गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्तले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यसअनुसार कम्पनीले ४ करोड ८० लाख रुपैयाँ बोनस बाँड्नेछ । यस्तै, बोनसमा लाग्ने कर तिर्न २५ लाख २६ हजार ३१५.७९ रुपैयाँ नगद लाभांश पनि कम्पनीले प्रस्ताव गरेको छ।
हाल लघुवित्तको चुक्ता पूँजी १६ करोड रुपैयाँ छ । हकप्रद र बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ३६ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।