नेपाल वायुसेवा निगमले माग्यो १७४ कर्मचारी
नेपाल बायुसेवा निगमले एकै पटक २३ वटा पदको लागि १७४ जना कर्मचारीको लागि विज्ञापन खुला गरेको छ। निगमले नवौं तहको सिनियर क्याप्टेन तथा विमान चालकदेखि चौथो तहको ग्राउण्ड इक्यूपमेन्ट अपरेटर्ससम्मको लागि कर्मचारी माग गरेको हो।
निगमले प्राविधिक सँगै लेखा तथा प्रशासनकाको लागि पनि कर्मचारी माग गरेको छ। निगमले विमान चालकमा मात्रै ५० जना माग गरेको छ। सिनियर क्याप्टेनको लागि न्यूनतम पनि १० वर्षको अनुभव हुनु पर्नेछ। ईच्छुक आवेदकले फागुन ३० गतेसम्म आवदेन दिन सक्ने निगमले जनाएको छ। नवौं र आठौं तहको लागि परिक्षा शुल्क २ हजार रुपैयाँ, सात र छ तहमा ७०० रुपैयाँ र पाँच र चार तहमा ५०० रुपैयाँ लाग्नेछ।
अधिकृत स्तरका कर्मचारीहले कम्तिमा पनि उपत्यका बाहिर कम्तिमा २ वर्ष काम गर्नु पर्ने छ भने बाँकी पदका कर्मचारीले उपत्यका भित्रै पाउने छन्। आवेदकले चैत्र २२ गते निगमको कार्यालमा सम्पर्क गर्नु पर्नेछ।
निगमले नयाँ गन्तब्यमा उडानका लागि ५० जना चालक दलको माग गरेको जनाएको छ। निगमका सहायक प्रवक्ता नवराज कोइरालाले निगमले नयाँ गन्तब्यमा उडानका लागि पचास जना चालक दल मागेको बताए।
‘निगमसँग अहिले आवश्यक चालकदलको अभाव छ। निकट भविष्यमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि गन्तब्य थप्ने र जहाज थप्ने योजना अनुसार पाइलट माग गरिएको हो।’
अन्तर्राष्ट्रिय उडानका लागि निगमले दुई वर्षभित्र एयरबससँग दुईवटा ब्राण्ड न्यू न्यारोबडी जहाज ल्याउने योजना बनाएको छ। निगमले निकट भविष्यमा जापान, कोरिया, चीन र साउदी अरब लगायत गन्तब्यमा उडान गर्ने योजना बनाएको छ।
