नेप्से अगाडी लगानीकर्ता लम्पसार, आगो लागेपछि ईनार खन्दै सरकार ।
कुल थापा / INVESTOPAPER
कुनैपनि कुरा बनाउनु र भत्काउनुमा कति फरक छ भन्ने अहिले पूंजी वजारमा देखिएका घटनाक्रमलाई मोटामोटीरुपमा नियाल्दा पुग्दछ । बजार आफनै गतिमा चलिरहेको थियो, १८ सयको विन्दुमा नेप्से उक्लेको थियो अनि दैनिकजसो २ अरवको हाराहारीमा शेयर कारोवार भैरहेको थियो । त्यो यस्तो अवस्था थियो कि राजश्वमा राम्रो योगदान, कम्पनीको साख र मनोवलमा उच्चता तथा लगानीकर्तामा उत्साहको अवस्था थियो । विश्व वजारका कैयौ शेयर ईन्डेक्स विसौ हजार माथि चलिरहेको परिप्रेक्षमा नेपालको नेप्से १८ सय पुग्दा ववल भनि होहल्ला गर्नेको कमि रहेन अनि नियमनकारी निकायहरुको आधुनिकीकरणमा ढिलाइ, सरकारमा रहेका जिम्मेवार व्यक्तिहरुको पनि वेजिम्मेवार अभिव्यक्ति तथा लाभकरको दरमा वृद्धि र गणना विधिले पनि अझ आगोमा घिउ थप्ने काम गर्यो । वजेटमा आएको परविर्तन भन्दा हल्ला र शंकाले वजार ततायो अनि वजार ओरालो लाग्न शुरु गर्यो । वर्तमानमा सरकार, नियमनकारी निकाय, विधायक देखि लगानीकर्ता समेत वजार सुधारको पक्षमा भगिरथ प्रयास गरिरहेकाछन तर वजार खस्किरहेको छ । भत्काउन कति सजिलो, बनाउन कति गाह्रो ?
वर्तमान अवस्था: –
लगानीकर्ताहरुले यस विचमा सवै नियमनकारी निकाय तथा सरकार समक्ष पटक पटक डेलिगेसन गै वजारको समग्र अवस्था सुधारको लागि आफ्ना मागहरु प्रस्तुत गरे । पूर्ण बहुमतको सरकार आगमनले शेयर वजारमा आएको पहिरो थाम्न सकेन वा मनोवैज्ञानिक असर पार्न सकेन भने नेप्सेले पनि अनलाईन ट्ेडिंगको नाममा लामो समय झुलाउने काम गर्यो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत हटाउने तथा अदालतले पुनर्वहाली गर्ने जस्ता क्रियाकलाप पनि वजार घटाउन सहायकसिद्ध नै भए । जव लगानीकर्ताले संघर्षको अल्टिमेटम दिए अनि सरकारले पनि वजार सुधारको लागि ७ दिनभित्र सुझाव दिने भन्दै नेपाल राष्ट् वैकका डेपुटी गभर्नर श्री शिवराज श्रेष्ठको संयोजकत्वमा २०७५/८/२० गते विहिवारका दिन अर्थ मन्त्रालयका प्रतिनिधि, नियमनकारी निकाय र लगानीकर्ताका प्रतिनिधि सहितका कमिटी गठन गरियो, जुन कमिटीले अन्तक्र्रिया छलफल गरि प्रतिवेदन लेखनमा पुगिसकेको जनाएको छ । अर्कोतर्फ लगानीकर्ताहरु २०७५/८/२३ गते आईतवार देखि लगातार रिले अनसनमा छन । उनीहरुका दश सूत्रीय मागमा अरु मागहरु थपिएका छन भने अर्थ मन्त्रीको राजिनामाको समेत कुरा उठान भएको छ । यो प्रतिवेदन समेत लगानीकर्ताको माग वमोजिम नआउने र लागूहुने कुरामै आशंका रहेको अनसनकारीहरुले वताईरहेकाछन ।
पूंजी वजारको हालको अवस्थाले सवैलाई चिन्तित बनाएको छ । हिजो २०७५/८/२५ गते मंगलवार अर्थ समितिमा समेत छलफलले प्रवेश पाएको अवस्था छ । तर विडम्वना नै भन्नुपर्छ गणपूरक संख्या नपुग्नाले औपचारिक वैठक हुन सकेन । समिति वैठक बोलाउछ, सदश्यहरु अनुपस्थित, यो कस्तो अवस्था हो ? सर्वसाधारणले प्रश्न गर्न पाउने कि नपाउने ? तथापि समितिमा उपस्थित गभर्नर डा. चिरंन्जिवी नेपाल, धितोपत्र वोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की , नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह सावद, इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलले आफ्नो धारणा राख्नु भयो । सवल अर्थतन्त्रको लागी पूंजी वजारको अपरिहार्यता र सुधारका लागी कदम चाल्नु पर्ने खालका धारणाहरु नै राख्नु भयो ।
केही विचारहरु: –
देशको अर्थतन्त्रको वागडोर सम्हाल्नु हुने अर्थमन्त्री डा. युवराज खतिवडाले फेरी विज्ञ समुह बनाएर बजार अध्ययन गर्ने अर्थ समितिमा प्रस्ताव गर्नु भएको छ । एउटा कमिटी बनाएर प्रतिवेदन नदिदै अर्को कस्तो विज्ञ समूह गठन गर्न खोज्नु भएको हो ? यस्ता कुराहरुले लगानीकर्तामा पुनः सन्देह जगाउन मद्दत गर्दैन र ? भन्न त वहाले लामो समयको लागि शेयर कारोवार गर्न सुझाव दिदै, सरकार निरन्तररुपमा पूंजी वजारको सुधार र विकासमा लागेकाले ढुक्क भएर लगानी गर्न तथा सरकार प्रति शंका नगर्न भनि आग्रह गर्नुलाई आम लगानीकर्ताले सकारात्मकरुपमा नै लिनु पर्छ । फेरी विज्ञ समूहबाट अनुसन्धान गराउने भन्ने प्रस्ताव कतै आगो लागि सकेपछि ईनार खन्ने उखानलाइ चरितार्थ त गर्दैछैन ?
त्यसैगरी पूर्व अर्थ मन्त्री श्री सुरेन्द्र पाण्डेले वजार सुधारका लागि सरकारले आवश्यक परे केही हस्तक्षेप पनि गर्नुपर्छ भन्नुलाई सरकार र नियमनकारी निकायहरुले कसरी लिन्छन र कार्यान्वयन गर्छन भन्ने पनि विचारणिय पाटो हो । त्यसै गरी पूर्व अर्थ मन्त्री ज्ञानेन्द्र कार्कीले वामपन्थी सरकार गठन प्रकृया पछि लगानीर्कतामा निराशा छाएको भन्नुमा कति दम छ ? आर्थिक उदारता र पूंजी वजारलाई पूर्ण स्वीकार गरेको कुरा र पटक पटक अर्थ मन्त्रीले समेत सकारात्मक अभिव्यक्ति दिईरहेको अवस्थामा कार्कीको भनाईको तादाम्यता के छ ? कतै राजनैतिक अभिष्ट पूरा गर्ने नाममा पूंजी वजार पिल्सिरहेको त छैन ? हुन त पुर्व अर्थमन्त्री रामशरण महतले पनि वर्तमान अर्थमन्त्री खतिवडाले पूंजी बजारलाई अनुत्पादक क्षेत्र भनेकोले बजार ओरालो लागेको विचार दिइसक्नु भएको छ ।
अन्त्यमाः –
विश्वमै सम्वेदनशिल र महत्वपूर्ण स्थानमा बसेका व्यक्तिहरु निकै कम बोल्छन ताकी सुधार गर्न सकिने कमी कमजोरीले पनि वृहत नकारात्मक असर नपरोस वा पद्धति÷अर्थतन्त्र तहस नहस नहोस । तर हाम्रो देशका नेता तथा उच्च पदस्थले यस्ता कुरा कहिले सिक्ने ? पुँजी बजार पनि अति सम्वेदनशिल हुन्छ र सुधार गर्न सकिने गल्ति कमजोरी पनि सतहमा आउदा भयावह परीणाम देखाउन सक्छ । चाहे पूंजी बजारलाई अनुत्पादक क्षेत्र भन्ने जस्ता कुरा हुन वा जुवा घर सँग गरीएका तुलना नै किन नहुन यी अभिव्यक्तिलाई गैर जिम्मेवार नै मान्नु पर्छ तथापी यी भनाइहरू भन्दा सयौ गुणा बढी सकरात्मक काम र कुराहरु गर्नु भएको छ । विभिन्न अन्तवार्ता र लेखहरुमा पूंजी बजारबाटै समृद्धि सम्भव छ । पूंजी बजारलाई गाऊँ गाऊँ सम्म पुर्याउनु पर्छ भन्नुलाई कसरी लिने ? के यो नै परोक्षरुपमा वहाँहरुले मागेको माफि हैन र ?