पर्यटकको संख्याभन्दा व्यवसायको गुणस्तर बढाउन अर्थमन्त्रीको जोड

Investopaper, पौष २७,  २०७६

जनकपुर — अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटकको संख्याभन्दा पनि व्यवसाय बढाउन व्यवसायीलाई आग्रह गरेका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको व्याफार सहजीकरणसम्बन्धी अन्तर्त्रियामा उनले व्यवसायको गुणस्तर सुधार्नुपर्नेमा जोड दिएका हुन् ।

‘धार्मिक पर्यटनका लागि आउनेहरूको बसाइँ कसरी लामो हुन्छ, यस विषयलाई प्राथमिकता दिनुहोस्,’ उनले भने । मुलुकले भ्रमण वर्ष मनाइरहँदा भारतीय नम्बरका गाडीहरू नेपालमा राख्ने समयसीमा घटाउँदा भारतीय पर्यटकहरूलाई कठिनाइ भएको भन्ने संघका पूर्वअध्यक्षहरूको गुनासोमा अर्थमन्त्रीले यस्तो प्रतिक्रया दिएका हुन् ।

कार्यक्रममा मन्त्री खतिवडाले सरकारले स्थानीय उद्योगहरूको संरक्षण गर्न विशेष नीति बनाएको उनले उल्लेख गरे । साथै स्थानीय कागज उद्योगहरूलाई संरक्षण गर्न पुस्तकमा कर लगाएको उनको भनाइ छ । ‘कागज उद्योगलाई संरक्षण गर्न पुस्तकमा १० प्रतिशत कर लगाएका हौं,’ उनले भने, ‘आफ्नो उद्योग बन्द गराएर अर्काको उद्योग चलाउने कुरा आएन ।’ भारतीय मालसामानमा धेरै कर लगाएकाले सीमावर्ती क्षेत्रमा चोरी पैठारी बढेको व्यवसायीको गुनासो थियो । मन्त्री खतिवडाले जिल्लास्थित सुरक्षा निकायहरूलाई सीमानाकामा हुने गैरकानुनी गतिविधिलाई कडाइका साथ रोक्न निर्देशन दिए ।

सीमानाकामा विषादी जाँच प्रयोगशाला नहुँदा व्यवसायीले भोग्नुपरेको आर्थिक क्षतिबारे अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । व्यवसायीले भन्सार नाकामा भोग्नुपरेको कठिनाइ, घुमुवा प्रहरीको ज्यादती, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका चुनौती र कृषि उपकरणहरूको पैठारीमा भन्सार घटाउनुपर्ने लगायत विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । याे समाचार आजकाे कान्तिपुर दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *