पुँजी बजारमा सङ्ख्या र लगानी बढ्नुलाई सरकारप्रतिको विश्वास बढेको रूपमा लिन सकिने – अर्थमन्त्री

इन्भेष्टोपेपर । जेष्ठ २६, २०७

ललितपुर  । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पछिल्लो समयमा नेपालको पुँजी बजारमा लगानीकर्ताको सङ्ख्या र लगानी बढ्नुलाई वर्तमान सरकारप्रतिको विश्वास बढेको रूपमा लिन सकिने बताउनुभएको छ ।

नेपाल धितोपत्र बोर्डको २९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई अभौतिक माध्यममार्फत सम्बोधन गर्दै उहाँले लगानीकर्ताको संरक्षण र हितका लागि पुँजी बजारको नियामक निकायका रूपमा धितोपत्र बोर्डको भूमिका अझ सशक्त र प्रभावकारी बनाएर अगाडि बढाउन पनि सुझाउनुभयो ।

अर्थमन्त्री पौडेलले आगामी आव २०७८÷७९ को बजेटमा पुँजी बजारका सम्बन्धमा उल्लेख भएका कामलाई प्रभावकारी रूपमा अगाडि बढाउने पनि गृहकार्य सुरु गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “बजेटको कार्यक्रममा उल्लेख भएअनुसारको वस्तु विनिमयको कारोबारलाई सुरु गर्न गृहकार्य गर्नुहोस् । ”

उहाँले पुँजी बजारलाई विश्वसनीय बनाइराख्न जरुरी भएकाले यसमा कुनै पनि नकारात्मक प्रभाव पर्ने क्रियाकलाप रोक्न पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

त्यस अवसरमा उहाँले बोर्डले तयार पारेको आर्थिक लेखको सँगालो पनि विमोचन गर्नुभयो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले विगत १० महिनामा भएको प्रगति विवरण प्रस्तुुत गर्नुभयो । उहाँले धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक रूपमा बढेको बताउनुभयो ।

उहाँका अनुसार डिम्याट खाता खोल्नेको सङ्ख्या शतप्रतिशत वृद्धि बढेर ३५ लाखभन्दा बढी भएको, मेरो सेयर खाताको सङ्ख्या साढे तीन गुणा बढेर २६ लाख पुगेको छ । त्यस्तै धितोपत्रको प्रारम्भिक निष्कासनमा १८ लाखसम्मले निवेदन दिने गरेको, दोस्रो बजार कारोबारका लागि युजर आईडी र पासवर्ड लिनेको सङ्ख्या छ लाख ६० हजारभन्दा बढी पुगेको उहाँको भनाइ थियो ।

बजारमा पुँजी परिचालन ७८ अर्ब रुपियाँसम्म हुने गरेको तथ्याङ्क ढुङ्गानाले प्रस्तुत गर्नुभयो । उहाँले विगतमा धितोेपत्र बजारले वार्षिक एक अर्बको राजस्व तिर्दै आएकामा अहिले मासिक एक अर्बभन्दा बढीको राजस्व तिर्न सकेको जानकारी दिनुभयो ।

सो अवसरमा बोर्डले यस वर्षको उत्कृष्ट पत्रकारिता पुरस्कार आर्थिक पत्रकार सङ्घलाई प्रदान गर्ने घोषणा गरेको छ । त्यस्तै धितोपत्र बजारसम्बन्धी शोधकर्ता जोसबहादुर गुरुङ, नरेश सिंखडा र सरिना राईलाई पनि पुरस्कृत गरिएको बोर्डका उपनिर्देशक नवराज अधिकारीले जानकारी दिनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *