बार्षिक सयभन्दा कम कामदार पठाउने म्यानपावर खारेजी गर्ने नीति

Investopaper, श्रावण १३, २०७६ 

काठमाडौं : सरकारले लगातार दुई वर्षसम्म एक सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनी खारेज गर्ने तयारी गरेको छ। आर्थिक वर्ष २०७५/० ७६ मा पाँच सय ६२ म्यानपावरले एक सयभन्दा कम कामदार पठाएका छन्। सरकारी नीतिअनुसार यी म्यानपावर खारेजीमा पर्नेसम्भावना देखिएको छ। सरकारले पछिल्लो चरणमा सयभन्दा कम कामदार पठाउने म्यानपावर खारेजी गर्ने नीति अबलम्बन गरेको छ।

आर्थिक वर्ष २०७५/० ७६ मा पाँच सय ६२ म्यानपावरले एक सयभन्दा कम कामदार पठाएका छन्।

धरौटी बढाएर म्यानपावरको संख्या घटाउने तयारी छ। भदौ १९ गतेदेखि म्यानपावारले धरौटी बढाउनुपर्नेछ। धरौटीका साथै म्यानपावरको भौतिक पूर्वाधार संरचना, कामदार पठाउनेको संख्यालगायत विश्लेषण गरेर कार्यविधि बनाउने तयारी सरकारको छ। भदौ १९ देखि पाँच हजारभन्दा बढी कामदार पठाउनेको धरौटी दुई करोड नगद र चार करोड बैंक ग्यारेन्टी हुनुपर्नेछ। यस्तै वार्षिक पाँच हजारसम्म कामदार पठाउने लक्ष्य राखी इजाजत माग गर्ने संस्थाको हकमा धरौटी एक करोड रुपैयाँ नगदै र दुई करोड बैंक ग्यारेन्टी राख्नुपर्नेछ।

हाल म्यानपावरले सात लाख नगद र २३ लाख बैंक ग्यारेन्टी राखे पुग्ने व्यवस्था छ। केही नेपाल ऐन संशोधनमार्फत सरकारले बैंक धरौटी बढाउनुका साथै मर्जरमा जान सक्ने व्यवस्था गरेको हो। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा देशमा सञ्चालनमा रहेका एक हजार ८१ म्यानपावरले दुई लाख आठ हजार तीन सय ५२ जना कामदार पठाएका छन्। गत आर्थिक वर्षको कामदार पठाएको विवरणअनुसार आधाभन्दा बढी म्यानपावर खारेजीमा पर्न सक्ने संकेत देखिएको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले कम कामदार पठाउने म्यानपावरलाई अरु म्यानपावरमा गाभिन प्रोत्साहन गरिने बताए। सरकारले म्यानपावर आपसमा मर्जरमा जानसक्ने व्यवस्था गरेको छ। धरौटी बढाउन नसक्ने म्यानपावर पनि मर्जरमा जान सक्ने व्यवस्था गरिएको छ।

पाँच हजारभन्दा बढी पठाउने एक मात्र

वैदेशिक रोजगार विभागका अनुसार पाँच हजारभन्दा बढी कामदार पठाउने म्यानपावर एउटा मात्रै छ। सबैभन्दा धेरै कामदार पठाउने द रिभर ओभरसिज हो। उसले हरेक वर्ष पाँच हजारभन्दा बढी कामदार पठाउन सफल भइरहेको छ। विभागका अनुसार दि ओभरसिजले गत आर्थिक वर्ष पाँच हजार दुई सय ५८ जना कामदार वैदेशिक रोजगारीमा पठाएको छ। एसओएस म्यानपावर सर्भिस प्रालिले चार हजार दुई सय ८१ र प्याराडाइज इन्टरनेसनल प्रालिले तीन हजार दुई सय २७ जना पठाएको छ।

विभागका अनुसार ११ म्यानपावरले वर्षभरिमा एक जना मात्रै कामदार पठाएका छन्। यस्तै दुई जना कामदार पठाउने म्यानपावर १० वटा छन्। १२ वटा म्यानपावरले गत आर्थिक वर्षमा तीन जना मात्रै कामदार पठाएका छन्।

विभागका अनुसार १५ वटा म्यानपवारले चार जना कामदार पठाएका छन्। १३ वटा म्यानपावरले पाँच जना कामदार पठाएका छन्। यस्तै ६ जना कामदार पठाउने म्यानपावर नौवटा छन्। ११ वटा म्यानपावरले सात जना कामदार पठाएका छन्। आठ जना कामदार पठाउनेमा ११ वटा म्यानपावर छन्।

नौ जना कामदार पठाउने १२ वटा म्यानपावर छन्। १० पठाउने आठवटा, ११ जना पठाउने ११ वटा म्यानवपावर छन्। १२ जना पठाउने सातवटा, १३ जना पठाउने नौवटा, १४ जना पठाउने नौवटा, १५ जना पठाउने नौवटा, १६ जना पठाउने १२ वटा १७ जना पठाउने आठवटा, १८ जना पठाउने तीनवटा १९ जना पठाउने पाँचवटा र २० जना पठाउने नौवटा म्यानवार छन्। याे समाचार आजकाे अन्नपूर्ण पाेष्टमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *