बुटवलमा शेयर बजारप्रतिको आकर्षण र आर्थिक कारोवार बढदाे
खस्यौली, माघ ९ गतेः प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल शेयर बजारको नयाँ केन्द्रको रूपमा स्थापित हुन थालेको छ । सरकारको नीतिअनुसार विभिन्न दलाल (ब्रोकर) कार्यालय बुटवलमा स्थापना भएपछि शेयर बजारप्रतिको आकर्षणले यहाँ आर्थिक कारोवार बढ्न थालेको स्थानीयले बताएका छन् ।
शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढ्नुका साथै बुटवलका विभिन्न दलाल कार्यालयमा शेयर बजारप्रतिको रुचिले बुटवललाई शेयर ‘हब’ का रूपमासमेत बुझ्न थालिएको रुपन्देहीस्थित सफल नेपाल इन्भेष्टमेण्ट फोरमका अध्यक्ष कमल तिवारी बताउनुहुन्छ ।
एशियन सेक्युरिटिज प्रालि, २६ नं दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले पूँजी बजारका लागि बुटवल अनुकूल बजार भएकाले शेयर दलाल कार्यालय यहाँ स्थापना भएको उल्लेख गर्दै व्यापारिक केन्द्रसमेत भएकाले पूँजी बजारका लागि बुटवल उदाउँदो बजार हुंदैछ भन्नुभयो ।
शेयर बजारका जानकारले पूँजी बजार अहिले ‘वियरिस’ अवस्थाको अन्त्यमा भएको दाबी गरेका छन् । शेयर बजार ‘प्यारालाइन स्टेट’ को अवस्थामा भएको बताइएको छ । यो अवस्था भनेको नेप्से परिसूचक घट्ने सम्भावना कम भएको र घटिहाले पनि ५० देखि १०० अङ्कको तलमाथि हुने बताइएको छ । यस अवस्थामा बजारले करीब छ महीनादेखि एक वर्षसम्मको समय लिन्छ । खासगरी पुस, माघ र फागुन शेयर बजारका लागि ‘अफसिजन’ मानिन्छ । अबका केही महीनापछि बजार ‘बुलिस’ हुने बताइएको छ । यहाँका ब्रोकर कार्यालयमा झण्डै दैनिक रु एक करोड बढीको कारोवार हुने गरेको छ ।
बुटवलस्थित विभिन्न कलेजका व्यवस्थापन सङ्कायका विद्यार्थी, केही कर्मचारी, प्राध्यापकलगायत शेयर बजारमा अभ्यस्त हुन थालेका छन् । दलाल (ब्रोकर) कार्यालयले यस क्षेत्रमा झण्डै डेढ वर्षदेखि शेयर खरीद तथा बिक्री गर्दै आएका छन् ।
-रासस