भैरहवा सेजमा दर्ता नौ उद्योगको अनुमति खारेज हुँदै

इन्भेष्टोपेपर । चैत्र ०६, २०७७

भैरहवा ।  भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग सञ्चालनको अनुमति लिएर आवश्यक प्रक्रिया अगाडि नबढाउने नौवटा उद्योगको अनुमतिपत्र खारेज गरिने भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले अनुमति खारेजको प्रक्रिया अगाडि बढाएको हो ।

ती उद्योगले भैरहवा सेजमा तीन वर्षदेखि सञ्चालनको अनुमति लिए पनि कुनै प्रक्रिया अघि बढाएका छैनन् । उद्योग सञ्चालनको प्रक्रिया नथाली जग्गा मात्रै ओगटेर बसेको भन्दै प्राधिकरणले अनुमतिपत्र खारेज गर्न लागेको हो ।

ती उद्योगले विशेष आर्थिक क्षेत्र (सेज)को ५१ हजार ९०७ वर्गमिटर अर्थात् १०२ रोपनी जग्गा ओगटेर बसेका छन् । सेजको कुल क्षेत्रफलको ४७ प्रतिशत जग्गा ओगटेर बसेका ती उद्योगले ७९ करोड ४९ लाख रुपियाँ लगानी गर्ने प्रतिबद्धता जनाए पनि त्यो पूरा नगरेपछि खारेज गर्ने निर्णयमा पुगेको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ ।

यसरी जग्गा ओगटेर बसेका उद्योगमा एस प्लास्टिक प्रोडक्ट्स, नीर इन्डस्ट्रिज प्रालि, जयबुद्ध मेटर क्राफ्ट, आईडीएस इलेक्ट्रिक, क्रियसन्स वल्र्डवाइड, अरिवा एग्रिकल्चर, नेसनल अर्गानिक्स, अरिहन्त एग्रो–प्रोसेसिङ र कुराकानी अनलाइन रहेका छन् ।

यीमध्ये केहीले आफूले ओगटेको जग्गामा उद्योग सञ्चालन नगरी लथालिङ्ग छाडेका छन् भने अन्यले प्राधिकरणसँग सम्झौतासमेत गर्न नआएको प्राधिकरणका इन्जिनियर माधवेन्द्र चौधरीले जानकारी दिनुभयो ।

उद्योग सञ्चालनमा चासो नदेखाएपछि विशेष आर्थिक क्षेत्र प्राधिकरणले ती उद्योगसँग स्पष्टीकरण सोधेको थियो । जसमा दुईवटाले मात्रै स्पष्टीकरणको जवाफ पठाएको इन्जिनियर चौधरीले बताउनुभयो । सेजमा आल तीनवटा उद्योग मात्रै पूर्ण क्षमतामा सञ्चालनमा छन् ।

केही उद्योगले निर्माण कार्य गरिरहेका छन् । शक्ति मिनरल्स प्रालि, ब्रिलियन्ट लाइट र भिस्तार ग्लोबल प्रालि पूूर्ण क्षमतामा सञ्चालनमा छन् । यी उद्योगहरूले उत्पादनदेखि लिएर उत्पादित वस्तु विदेशमा समेत निर्यात गरिरहेको सेज व्यवस्थापन कार्यालयका प्रमुख अर्जुन पाण्डेले बताउनुभयो ।

त्यस्तै जयबुद्ध मेटल क्राफ्ट प्रालि र पञ्चकन्या समूहको चारवटा उद्योग छिट्टै पूर्ण क्षमतामा सञ्चालनमा आउने तयारी भइरहेको प्रमुख पाण्डेले बताउनुभयो । जयबुद्धले परीक्षण उत्पादनसमेत गरिसकेको छ । यो उद्योगले तामा, पित्तल, स्टिल, धातु, आल्मुनियमका पूजा, सजावट एवं दैनिक घरायसी सामग्री उत्पादन गर्नेछ ।

६८ वटा प्लट रहेको सेजमा १७ उद्योगले दुई अर्ब ६३ करोड ९१ लाख २१ हजार ६२६ रुपियाँ बराबरको लगानी प्रतिबद्धता जनाएका छन् । ६८ प्लटमध्ये ४८ वटा भाडामा लगाइएको छ भने २० वटा प्लट भाडामा लगाउन बाँकी रहेको सेज व्यवस्थापनले जनाएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *