रासायनिक मलकाे प्रयोग कम गर्ने कार्ययोजना बनाउन निर्देशन

इन्भेष्टाेपेपर । पुष १७, २०७७ 

काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्न रासायनिक मलको प्रयोग कम गर्दै जानुपर्ने बताउनुभएको छ ।

रासायनिक मलको प्रयोग पूर्णरूपमा बन्द गर्नसक्ने अवस्था अहिले नभए पनि यसलाई विस्तारै कम गर्दै लैजानुपर्ने कुरामा जोड दिँदै उहाँले त्यसका लागि अहिलेदेखि नै कार्ययोजना बनाएर अगाडि बढ्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो ।

कृषि विभागको अनुगमनका क्रममा बिहीबार मन्त्री आर्यालले अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्न प्राङ्गारिक मलमा जोड दिनुपर्ने बताउनुभयो ।

चक्लाबन्दी खेती प्रणाली कार्यक्रम जनस्तरबाट सुरु हुनुपर्ने भन्दै उहाँले तलबाट नै किसानलाई प्रेरित गर्नेगरी कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । कृषकले कृषि कर्म गर्नका निम्ति मल, बीउ, बेर्ना पाउन नसकेको समस्याको अन्त्य गर्नेगरी लाग्न समेत उहाँले कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

मन्त्रालयले वितरण गर्दै आएको अनुदान कार्यक्रमबारे समेत लेखाजोखा गर्न निर्देशन दिँदै उहाँले अनुदान कार्यक्रमको प्रभावकारी अनुगमन कार्य अगाडि बढाउन निर्देशन दिनुभयो । ‘हाम्रा अनुदानले कति प्रतिफल प्राप्त भएको ? त्यसको लेखाजोखा गर्नुस्’, मन्त्री अर्यालले भन्नुभयो, ‘अनुदानका कार्यक्रमलाई पुनर्विचार गरौँ । यही तरिकाले अनुदान प्रभावकारी हुन सक्दैन । ’

बिहीबार नै पशुसेवा विभागको अनुगमन गर्दै मन्त्री आर्यालले बजारमा देखिएको बोयर बाख्राको मागको आपूर्ति गर्नेगरी काम गर्नसमेत मातहतको कर्मचारीलाई निर्देशन दिनुभयो । कोभिड–१९ सङ्क्रमणका कारण मुलुक बन्दाबन्दीको स्थितिमा रहेका बेला किसानको दूध बिक्री नभएर सडकमा पोख्ने अवस्थाको स्मरण गर्दै उहाँले दूध बिक्री नहुँदा पनि त्यसबाट उत्पादित हुने परिकार बनाउने सीप तथा औजार किसानलाई प्रदान गर्न निर्देशन दिनुभयो।

मन्त्रालयका कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले मन्त्रालयको वित्तीय प्रगति बढाउने लक्ष्य रहेको भन्दै त्यहीअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रम संशोधन गर्नुपर्ने आवश्यकता भएमा संशोधन गरेर भए पनि काम देखिने गरी अगाडि बढ्नुपर्ने उहाँले धारण राख्नुभयो ।

त्यसैगरी पशुपन्छी तर्फका सचिव डा. प्रेमनारायण कँडेलले मन्त्रालयको लक्ष्य र कार्यसम्पादनको तालमेल मिल्नुपर्ने भन्दै एक महिनाभित्र विशेष योजना बनाएर पेस गरिने बताउनुभयो । केही आन्तरिक व्यवस्थापन गर्न आवश्यक भएको भन्दै उहाँले पशु स्वास्थ्य र मानव स्वास्थ्यको सम्बन्ध प्रत्यक्ष जोडिएकाले पशु स्वास्थ्यलाई बढी जोड दिएर हेर्नुपर्ने बताउनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *