रौतहटमा भएको बम विस्फोटका जीवित घाइतेहरू प्रहरीको सम्पर्कमा
Investopaper, कार्तिक ०३, २०७६
रौतहट – २०६४ चैत २७ गते साँझ रौतहटको राजपुरमा भएको बम विस्फोटका जीवित घाइतेहरू रौतहट प्रहरीको सम्पर्कमा आएका छन्। बम विस्फोटका सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घाइते अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने बताइएको छ। घटना पुष्टिका लागि पर्याप्त प्रमाण प्रहरीले घाइतेहरूबाटै संकलन गरिसकेको जनाइएको छ।
बम विस्फोटमा सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घाइते अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने बताएको छ।
अनुसन्धान क्रममा एक सातादेखि प्रहरी हिरासतमा रहेका घटनाका आरोपित सांसद महम्मद आफताब आलमले बयानका लागि मुखै नखोले पनि विस्फोटमा परेर घाइते भएका दुईजनाले प्रहरीसमक्ष बयान दिइसकेका छन्। घाइतेमध्ये सर्लाहीका एकजनाले साबिती बयान दिएका छन्। स्रोतका अनुसार गाईबस्तु किनबेच गर्ने सर्लाहीका ती व्यक्ति बम विस्फोट भएको दिन घटनास्थलनजिकैको घरमा थिए।
बम बनाउने काम भइरहेको भन्नेबारे उनलाई कुनै जानकारी थिएन। विस्फोटपछि उनी गम्भीर घाइते भए। बमको छर्राले उनको भुँडीको छाला पुरै उछिट्टिएकाले आन्द्रा बाहिर निस्किएको थियो। आफ्नै लुंगीले आन्द्रा बाँधेर तत्काल स्थानीय साहुको घरमा पुगेलगत्तै उनी बेहोस भएका थिए। साहुले उनलाई भारतको मोतीहारीमा तीन महिनासम्म राखेर उपचार गराएका थिए। १९ दिनपछि होसमा आएका ती व्यक्तिले प्रहरीलाई घटनाबारे साबिती बयान दिएका हुन्।
भारतमा उपचार गराएर उनी घर फर्के पनि हालसम्म पूर्ण रूपमा स्वस्थ भइसकेका छैनन्। भारतको मोतीहारीमा उपचार गराउन गएकै अस्पतालमा बम विस्फोटका अन्य केही घाइते पनि पुगेका थिए। तिनै घाइतेमध्ये केहीले अहिले प्रहरीलाई सहयोग गरिरहेको बुझिएको छ। सुरक्षाका दृष्टिले बयान दिनेको नाम प्रहरीले सार्वजनिक नगरेको स्रोतको दाबी छ।
डरले घटनाबारे पछिसम्म मुख खोल्न नमानेका मृतकका परिवारजन तथा घाइतेमध्ये केहीले चाहिँ अनौपचारिक रूपमा प्रहरीलाई सहयोग गरिरहेको बुझिएको छ। बम बनाउने क्रममा चुरोटको आगो बारुदमा झरेपछि विस्फोट भएको घाइतेहरूको दाबी छ। आलमले बम बनाउन लगाएका मानिसमा धेरैजसो आपराधिक पृष्ठभूमिका भारतीय भएको बताइएको छ। बम विस्फोटमा मृत्यु र घाइते भएकासहित २२ जनालाई इँटाभट्टामा हालेर जलाएको आरोप आलममाथि लागेको छ। याे समाचार आजकाे नागरिक न्यूजमा प्रकाशित भएकाे छ ।
