विश्व नै खोप विभेदको जोखिममा छ : डब्लूएचओ प्रमुख
इन्भेष्टोपेपर । जेष्ठ ४, २०७८
पेरिस । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताउनु भएकाे छ ।
उहाँले सोमवार पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा तिब्र विभेद भएको बताउनु भएकाे हाे । पेरिस पिस फोरममा सम्बोधन गर्दै महासचिव घेब्रेससले भने, ‘मेरो विचारमा विश्व नै खोप विभेदको जोखिममा छ, र यो रङ्गभेदी छ ।
तपाईंलाई थाहै छ, उच्च आय भएका मुलुकहरुको जनसंख्या विश्व जनसंख्याको करीब १५ प्रतिशत छन् तर विश्वमा उत्पादित खोपको झण्डै ४५ प्रतिशत त्यहीं छ । न्यून र न्यून–मध्यम आय भएका मुलुकहरुमा विश्वको झण्डै आधा जनसंख्या छ, तर खोप भने १७ प्रतिशत मात्र उपलब्ध छ । खोप वितरणमा ज्यादै ठूलो अन्तर प्रष्टै देखिएको छ ।’
उहाँले विश्वका १२४ वटा देशमा करीब ६३ लाख डोज खोप पठाइएको छ, तर यो खोप ती देशको कुल जनसंख्याको शून्य ५ प्रतिशत मात्र रहेको बताउनु भयाे ।
खोप वितरणमा देखिएको यस किसिमको असमता हटाउन लगानी बढाउनुपर्ने, कोभाक्समा खोप उपलब्ध हुनुपर्ने तथा खोपको उत्पादन बढाउन प्रविधि हस्तान्तरण गर्नुपर्नेमा उहाँले जाेड दिनुभयाे।
महासचिव घेब्रेससले भन्नुभयाे, ‘कतिपय उच्च आय भएका मुलुकहरुले आफ्ना बालबालिका र किशोर किशोरीलाई खोप दिन थालिसकेका छन्, जबकी विश्वका धेरै देशमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र अन्य जोखिम समूहमा रहेका व्यक्तिले खोप लगाउनै पाएका छैनन् ।’
यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमवार आगामी छ हप्ताभित्रै आफूसँग रहेको ८ करोड डोज खोप उपलब्ध गराउने घोषणा गर्नु भएकाे थियाे । राष्ट्रपति बाइडेनले विश्वलाई नै मद्दत गर्न नयाँ उपाय अवलम्बन गर्न प्रयास गरिने बताउनु भएकाे छ । (रासस / एएनआई)
