संक्रमण बढेपछि फ्रान्स सरकारद्वारा पुनः लकडाउनको घोषणा

इन्भेष्टोपेपर । चैत्र ०७, २०७७

पेरिस । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि ‘लकडाउन’ भएको फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीवार घोषणा गरेका हुन् । 

उनले बिहीवार पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिलेभन्दा पनि झन् बढेका स्थानहरुमा सो लकडाउनको घोषणा गरेका हुन् । 

उनले यहाँका बढी प्रभाावित विभिन्न १६ ओटा राज्यमा यस्तो नियमको घोषणा गरेका हुन् । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले करीब चार महीनाअघि मात्र पनि दोस्रोपटक लकडाउनको घोषणा गरेका थिए । 

तर प्रधानमन्त्री क्यास्टेकले यो अहिलेको लकडाउन पहिलेको जस्तो कडा नरहेको र यहाँका नागरिकले आफ्नो घरमा भने बस्नुपर्ने बताएका छन् । पहिलेका लकडाउनमा यहाँ एक किसीमले कफ्र्यु नै लगाएजस्तो हुने गरेकोमा अहिले त्यस्तो नभएर नागरिकहरुले घरमा बस्नुपर्ने मात्र रहेको बताइएको छ । 

कोरोना भाइरसको महामारीको सुरुमा युरोपमा अति प्रभावित मध्येको फ्रान्समा गत मार्चमा पहिलोपटक लकडाउन गरिएको थियो । त्यसबेला २ महीना लकडाउन गरेर खुला गरिएको थियो ।

पछिल्लो समय महामारीको दोस्रो लहर तीव्र गतिमा बढेपछि प्रधानमन्त्रीले शुक्रबारदेखि नै लागू हुने गरी पुनः लकडाउनको घोषणा गरेका हुन् । यो लकडाउनका समयमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ । तर एक राज्यबाट अर्कोमा जान यात्रा प्रतिबन्ध गरिएको छ ।

विद्यालयहरु भने खुला राखिएको छ तर यहाँको सरकारले तय गरेका मापदण्डहरु पूर्ण रुपमा लागू गरेर मात्र विद्यालय खोल्न सकिने बताइएको छ । काममा जानुपर्ने मानिसले पनि आफ्नो घरबाट बढीमा १० किलोमीटर परसम्मको कामका लागि मात्र जान सक्ने बनाइएको छ ।

फ्रान्समा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ भने दैनिक ३० हजार भन्दा बढी संक्रमित थपिदै गएका छन् । गत २४ घन्टायताको अर्थात् बिहीवार मात्रको तथ्यांकमा यहाँका ३५ हजार जनामा यो संक्रमण देखिएको छ । यो समयमा मात्र २६८ जनाको यो संक्रमणबाट निधन नै भएको छ । 

यसरी पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेहरुको संख्या पनि प्रतिदिन बढ्दै गएको देखिएको छ । फ्रान्समा हालसम्म करीब ४२ लाख जनालाईसंक्रमण देखिएको छ । त्यसैगरी यहाँ यस महामारीबाट मृत्यु हुनेको संख्या पनि ९१ हजारभन्दा बढी पुगेको बताइएको छ । (रासस/सिन्ह्वा)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *