सबैकाे अाअाफ्नै चिन्ताः मेलम्चीमा नयाँ ठेक्का नगर्न चेतावनी
काठमाडौं : माघ २७, २०७५
मन्त्रीज्यूले सीएमसीलाई फर्काउन पहल कदमी लिनुभएको छ, यो हाम्रो लागि पनि खुशीको कुरा हो । समयमै भुक्तानी नगरेको कारण मुख्य ठेकेदारले ठेक्का तोडेर गएको अवस्थामा आफूहरुको भुक्तानीको जिम्मेवारी आयोजनाले नै लिनुपर्ने संघर्ष समितिले जिकिर गरेको छ ।
मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले सरकारले मेलम्चीको नयाँ ठेक्का गरेमा काम हुन नदिने चेतावनी दिएको छ । संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी ठप्प रहेको मेलम्ची छिटोभन्दा छिटो कानुनी प्रक्रिया पूरा गरेर सुचारु गर्न माग गरेको छ ।
कार्यक्रममा समितिका संयोजक श्रीराम न्यौपानले नेपाली व्यवसायीहरुको भुक्तानी नहुञ्जेलसम्म अन्य नेपाली निर्माण कम्पनीहरुलाई उक्त आयोजनाको ठेक्का प्रक्रियामा सहभागी नजनाउन पनि आग्रह गरे । उनले भने, ‘मेलम्ची विकास समितिलाई पनि भुक्तानीको टुँगो नलगाई अगाडि नबढ्न आग्रह गर्दछु ।’
भुक्तानीको जिम्मेवारी आयोजनाले लिनुपर्नेः
उक्त आयोजनाबाट नेपाली व्यवसायीहरुको झण्डै डेढ अर्व भुक्तानी नभएको गुनासो पोखे । उनले भने, ‘हामी नेपाली व्यवसायीहरुलाई उक्त भुक्तानी समयमै भएन भने ‘नो सप्लाई, नो वर्क’ को अवधारणालाई कडाईका साथ कार्यान्वयन गर्छौं ।’
मेलम्ची आयोजनालाई अनुचित लाभ र बदनियतपूर्ण खेलको दलदलबाट बाहिर ल्याएर तत्काल सबै राजनीतिक दलहरुले उक्त आयोजनालाई अघि बढाउन पनि सहमति र सहकार्य गर्नुपर्ने न्यौपानेको सुझाव छ । समयमै भुक्तानी नगरेको कारण मुख्य ठेकेदारले ठेक्का तोडेर गएको अवस्थामा आफूहरुको भुक्तानीको जिम्मेवारी आयोजनाले नै लिनुपर्ने समितिले जिकिर गरेको छ ।
त्यस्तै संघर्ष समितिका सचिव विष्णुमणि आचार्यले बहालवाला विभागीय मन्त्री बिना मगरले सीएमसीलाई काममा फर्काउनेबारे हालै सिंगापुरमा गरेको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । उनले भने, ‘मन्त्रीज्यूले सीएमसीलाई फर्काउन पहल कदमी लिनुभएको छ, यो हाम्रो लागि पनि खुशीको कुरा हो ।’
कर्मचारीकाे माग, राेकिएकाे तलवकाे भुक्तानीः
कार्यक्रममा सीएमसीका मानव संशाधन प्रमुख देविरमण अधिकारीले उक्त आयोजनामा कार्यरत ७ सय २५ कर्मचारीहरुको तीन महिनाको तलव नपाउँदा आफूहरु ठूलो मारमा परेको गुनासो पोखे । अधिकारीले भने, ‘कर्मचारीको झण्डै ८ करोड रुपैयाँ तलब र अन्य सेवा सुविधा बाँकी छ । यस्तो अवस्थामा हाम्रो माग पूरा नहुँदासम्म काम अगाडि बढाउन दिँदैनौं ।’
भुक्तानी नहुञ्जेलसम्म नयाँ निर्माण कम्पनीलाई काम गर्न नदिने र जबरजस्ती काम गराइए आफूहरुले सशक्त प्रतिकार गर्ने पनि समितिले चेतावनी दिएको छ । त्यसपछि उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा मेलम्ची विकास समितिले लिनुपर्ने पनि समितिको जिकिर छ । याे समाचार अाजकाे अन्नपूर्ण पाेष्टमा छापिएकाे छ ।