सिंहदरबारभित्र सर्वसाधारणको प्रवेशमा कडाइ
इन्भेष्टोपेपर । श्रायण २२, २०७७
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि मुलुकको मुख्य प्रशासनिक कार्यालय सिंहदरबारभित्र सर्वसाधारणको प्रवेशमा कडाइ गरिएको छ ।
काठमाण्डाै उपत्यकामा कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारी पदाधिकारी, कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा आवश्यक सतर्कताका लागि बुधबारबाट सिंहदरबार प्रवेशमा कडाइ गरिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ ।
वर्तमान तथा पूर्वसरकारी पदाधिकारी, सांसद र सरकारी कर्मचारीले अनावश्यक व्यक्ति आफूसँंगै प्रवेश गराउने तथा अत्यावश्यक कामबाहेक अन्य व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ । सञ्चारकर्मीका लागि सूचना विभागको प्रेस पास अनिवार्य गरिएको छ । सर्वसाधारण सेवाग्राहीका लागि विभिन्न मन्त्रालयबाट जारी हुने ई–गेट पास सेवा अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको छ । सिंहदरबार प्रवेश गर्नेहरूका लागि स्वचालित सीसी थर्मगनबाट ज्वरो नाप्ने व्यवस्था गरिएको छ ।
सिंहदरबार परिसर सुरक्षामा परिचालित प्रहरी सुरक्षा गणका प्रमुख सुवास बोहराले बुधबारबाट अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाइएको बताउनुभयो । उहाँले प्रवेशद्वारमा पीपीई पोसाकसहितका सुरक्षाकर्मी खटाई सुरक्षा तथा स्वास्थ्य सतर्कता अपनाइएको जानकारी दिनुभयो ।
त्यस्तै सिंहदरबारभित्र विभिन्न भौतिक संरचना निर्माणमा संलग्न मजदुर तथा कामदारलाई भित्र–बाहिर गर्न रोक लगाइएको छ । क्यान्टिन तथा भवन निर्माण कार्यमा संलग्न कर्मचारीलाई सम्बन्धित ठाउँमा बस्ने गरी ‘सिल’ गरिएको छ ।
गण प्रमुख प्रहरी नायब उपरीक्षक बोहराका अनुसार अत्यावश्यक काम भएका र सम्बन्धित मन्त्रालयबाट जरुरी भनी बोलावट भएका वयक्तिको हकमा पनि आवश्यक स्वास्थ्य सुरक्षा अपनाई पीसीआर प्रतिवेदनका आधारमा प्रवेश पाउन सक्ने व्यवस्था गरिएको छ ।
