सिभिल बैंकको साधारण सभा सम्पन्न,लाभांश पारित तथा मर्जरमा जान अख्तियारी
इन्भेष्टाेपेपर । फागुन ०९, २०७७
काठमाडौं । सिभिल बैंक लिमिटेडको १० औं वार्षिक साधारण आइतवार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको चुक्तापूँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३ रुपियाँ ९१ पैसा बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर शून्य दशमलव ४२ प्रतिशतका दरले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४८२ रुपियाँ र ८४ पैसा नगद लाभांश वितरण गर्न पनि सर्वसम्मतीले स्वीकृती दिएको छ ।
साथै सभाले आर्थिक वर्ष २०७७/०७८ को लेखा परिक्षण गर्नको लागि ‘एनबिएसएम एण्ड एशोसियट्स’ लाई लेखापरिक्षकमा पुनः नियुक्त गर्ने निर्णय गरेकाे छ ।
यसैगरि, सभाले कम्पनी र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/ गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/ हुने वा स्वदेशी/ विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानूनअनुसार कम्पनीको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
करीब ५ लाखभन्दा बढी ग्राहकहरुलाई ११४ ओटा शाखाहरु, छ ओटा एक्सटेन्सन काउन्टरहरु तथा ८९ ओटा एटीएम मार्फत सेवाप्रदान गरिरहेको कम्पनीले करीव रु. ७८ अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ७२ अर्बभन्दा बढी कर्जा लगानी गरीसकेकोे कम्पनीले बताएको छ ।
