हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम शुरु

इन्भेष्टोपेपर । जेष्ठ ५, २०७

हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम शुरु हुने भएको छ । अक्सिजन प्लान्ट निर्माणका लागि मंगलवार अस्पताल र उद्योग संघ हेटौँडाबीच सम्झौता भएको हो ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रोहवरमा यही जेठ १६ गतेभित्र निर्माण शुरु हुने गरी सम्झौता भएको हो । सम्झौतापत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवम् हेटौँडा अस्पताल सञ्चालन, व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग संघ हेटौँडाका अध्यक्ष लेखराज पोखरेलले हस्ताक्षर गर्नुभयाे । 

प्लान्ट निर्माण रू. एक करोड ३० लाखमा सम्पन्न हुने अनुमान संघले गरेको छ । प्लान्ट निर्माणको संयोजन उद्योग संघले गर्ने र आर्थिक जोहो संघसँग आबद्ध उद्योगीहरुले गर्ने संघले जानकारी दिएको छ ।

जेठ १६ गतेसम्ममा ठेकेदारलाई प्लान्ट निर्माणको जिम्मेवारी दिने र त्यसको करिब २०/३० दिनभित्र प्लान्ट जडान भइसक्ने संघका अध्यक्ष पोखरेलले जानकारी दिनुभयाे । प्लान्टले दैनिक २०० सिलिण्डर अक्सिजन आपूर्ति गर्नसक्ने उहाँले बताउनुभयाे ।

यसैबीच मकवानपुरमा कोभिड–१९ संक्रमितको उपचारका लागि अक्सिजन अभाव हुन थालेपछि हेटौँडा उपमहानगरपालिकाले दैनिक १०० सिलिण्डर अक्सिजन ल्याउने अभियान शुरु गरेको छ ।

कोरोना संक्रमणको दर बढिरहेकाले हेटौँडा अस्पतालमा उपचाररत बिरामीलाई सघाउ पुर्‍याउने उद्देश्यले सो अभियान चालिएको उपमहानगरपालिकाले जानकारी दिएको छ । 

प्रत्येक दिन उपमहानगरपालिकाको आर्थिक लगानीमा १०० सिलिण्डर अक्सिजन भरेर अस्पतालमा उपलब्ध गराइने छ । पछिल्लो समय उपमहानगरपालिकामा अक्सिजन चाहिने संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय सरकारले पहलकदमी बढाएको हो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *