अपर राहुघाट जलविद्युत् आयोजनाकाे निर्माण शुरु

इन्भेष्टाेपेपर । मङ्सिर २९, २०७७ 

म्याग्दी — म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माण शुरु भएको छ ।

तुण्डी पावर लिमिटेडले राहुघाट नदीमा निर्माण गर्न लागेको आयोजनाको बाँध रघुगङ्गा–८ बन्दीघाट र विद्युत्गृह वडा नं ७ चिमखोलामा रहनेछ । कम्पनीका इञ्जिनीयर प्रकाश तिमिल्सिनाले तीन वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने जानकारी दिनुभयो । “बाँध निर्माणको ठेक्का लिएको रामेछाप शेर्पा कन्स्ट्रक्सन र सुरुङको ठेकेदार साउथ एशियन इन्फास्ट्रक्चरले प्रारम्भिक चरणको निर्माण शुरु गरेका छन्”, उहाँले भन्नुभयो, “मौवाफाँट–दग्नाम–दर्मीजा–चिमखोला हँुदै बाँध निर्माणस्थलसम्म पहुँचमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।”

गाउँपालिका, प्रदेश र सङ्घीय सरकार तथा जलविद्युत् आयोजनाको साझेदारीमा रघुगङ्गा–४ को अजिङ्गर भिरमा चट्टान फुटाउने काम सकिएमा आयोजनाको बाँधसँगै दर्मीजा, चिमखोला र कुइनेमङ्गले सिधा सडक सञ्जालमा जोडिने छन्् । पाँच किलोमिटर लामो सुरुङ हुने आयोजनाको आउटलेटदेखि १५० मिटर तल पानी विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । चिमखोलास्थित रघुगङ्गा र बगर खोलाको दोभान मलाङमा विद्युत्गृह निर्माण गर्न जग्गा व्यवस्थापन गरिएको छ । आयोजना निर्माणमा आवश्यक विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगङ्गा–७ चिमखोलामा नेपाली सेनाको क्याम्प स्थापना गर्न लागिएको छ । सेनाको क्याम्प बनाउन भवनलगायतका पूर्वाधार निर्माण भइसकेको आयोजनाका इन्द्र ढकालले बताउनुभयो । 

बाँध, सुरुङ र विद्युत्गृह निर्माण एकैसाथ अघि बढाउन लागिएको उहाँले बताउनुभयो । अपर राहुघाटबाट उत्पादन हुने विद्युत् २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । बाँध निर्माण कार्यको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आइतबार शिलान्यास गर्नुभएको थियो । “अपर राहुघाटसँगै राहुघाट र सहायक नदीमा अनुमति लिएका आयोजनालाई निर्माणका लागि सहजीकरण गरेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीयवासीलाई सुविधासँगै जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन अजिङ्गर भिरमा सडक निर्माणमा प्राथमिकता दिएका हौँ ।” 

तुण्डी पावरले राहुघाटमै अर्को ३७ मेगावाट क्षमताको राहुघाट मङ्गले जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि विद्युत् विकास विभागबाट अनुमति लिइसकेको छ । कुइनेमङ्गलेमा राहुघाट नदीको सहायक ठूलोखोलामा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माणका लागि संयुक्त ऊर्जा प्रालिले अनुमति लिएको छ । ठूलोखोलाको पनि बाँध निर्माणस्थलसम्म पहुँचमार्ग निर्माण भइसकेको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले बताउनुभयो । 

राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । राहुघाटको करिब ३० प्रतिशत पूर्वाधार निर्माण सकिएको छ । म्याग्दी जिल्लामा ६६२ मेगावाट क्षमताका १७ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । दुई मेगावाट क्षमताको तातोपानी साना र पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । बयालीस मेगावाट क्षमताको मिस्ट्रिखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । 

एक सय १० मेगावाट क्षमताको नीलगिरि र नीलगिरि क्यासकेड, १४ मेगावाटको घारखोला, २५ मेगावाटको दरवाङ म्याग्दीखोला निर्माणाधीन छन् । दाना–खुर्कोट जोड्ने २२० केभी क्षमताका प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सवस्टेशन र प्रसारण लाइन निर्माणको चरणमा छन्् ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *