अमेरिकामा आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने

इन्भेष्टाेपेपर । मङ्सिर २९, २०७७ 

वासिङटन — कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । 

पहिलो चरणमा जोखिम क्षेत्रका व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरु र ज्येष्ठ नागरिकले खोप पाउनेछन् । खोप प्रयोग गर्ने पहिलो दिन आज १४५ स्थानमा खोप प्राप्त हुनेछ भने मङ्गलबार ४२५ स्थानमा र बुधबार ६६ स्थानमा प्राप्त हुने खोप वितरण तथा व्यवस्थापन कार्यमा खटिएका एक अमेरिकी  अधिकारीहरुले जनाएका छन् ।  पहिलो चरणको वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण पनि शुरु गरिने र यसले धेरैको ज्यान जोगाउने उनीहरुको विश्वास छ ।  

आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर बायोएनटेक कोरोनाभाइरस खोप’ अमेरिकामा पनि सर्वसाधारणलाई लगाइने भएको हो ।   यो खोप लगाउन सबैभन्दा पहिला बेलायतमा अनुमति दिइएको थियो । त्यसपछि बहराइन, क्यानडा, साउदी अरबलगायतका देशले पनि प्रचलनमा ल्याउने निर्णय गरेका थिए ।  

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित भएर १६ लाख मानिसको मृत्यु भएपछि सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा खोपको प्रयोग हुन लागेको हो ।  सो खोप ७० डिग्री सेल्सीयसको तापक्रमसहितको विषेश अवस्थामा मात्रै राख्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् । “अत्यावश्यक परेका सवैलाई हामीले खोप राम्रोसँग उपलब्ध गराउन सक्छौँ भन्ने हामीलाई विश्वास छ, त्यहीअनुसार कामहरु भइरहेको छ,” खोप वितरण तथा व्यवस्थापन कार्यमा खटिएका एक अमेरिकी अधिकारीले भने ।   

दैनिक मृतकहरुको सङ्ख्या उच्च हँुदै गएपछि अमेरिकाले खोप प्रयोगमा हतार गरेको हो । गत शनिबार मात्रै अमेरिकामा एकैदिनमा ३,३०९ जनाको मृत्यु भएको थियो । यो सङ्ख्या अमेरिकामा एकैदिनमा कोरोनाका कारण मृत्यु भएकाहरुको सवैभन्दा ठूलो सङ्ख्या हो । त्यसैगरी यो सङ्ख्या विश्वमै पनि कोरोनाका कारण एकैदिनमा मृत्यु भएकाहरुको सबैभन्दा धेरै सङ्ख्या भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । केही समय कम देखिएको मृतकको सङ्ख्या अमेरिकामा पछिल्ला केही दिनदेखि फेरी बढ्दै गइरहेको छ ।  मृतक र सङ्क्रमितहरुको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि अमेरिकाले गत शनिबार यो खोप प्रयोगमा ल्याउने निर्णय गरेको थियो ।   (रासस/एएफपी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *