आज स्थानिय बजारमा सुनकाे भाउ बढ्याे, चाँदीकाे भाउ घट्याे
Investopaper, भाद्र २३, २०७६
महिनाै दिनसम्म बढेर रेकर्ड बनाइरहेकाे सुनचाँदीकाे भाउमा आज फेरी बृद्धी भएकाे छ । हिजाे आइतबार ५ सय रूपैयाँले घटेकाे सुनकाे भाउ आज साेमबार भने जम्मा २ सय रूपैयाँले बढेकाे छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज भाद्र २३ गते साेमबार छापावाला सुन प्रतितोला ७१ हजार ७ सय रूपैयाँ कायम भएकाे छ । हिजाे भाद्र २२ गते भने नेपाली बजारमा छापावाला सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा काराेवार भएकाे छ । तेजाबी सुनकाे मूल्यमा पनि २ सय रूपैयाँले उकालाे लागेकाे हाे ।


यसैगरी, चाँदीकाे मूल्यमा भने गिरावट भएकाे छ । हिजाे चाँदीको मूल्य प्रतितोला ८ सय ८५ रूपैयाँ थियाे भने आज प्रति ताेला ५ रूपैंयाँले घटेर ८ सय ८० रूपैयाँमा खरिदबिक्री भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीकाे मूल्यमा फेरबदल आएकाले नेपालमा पनि भाउ घटबढ भएकाे छ । २ दिन ओरालाे यात्रामा रहेकाे सुनचाँदीकाे मूल्यमा आज झिनाे बृद्धी भएतापनि भाेलीका दिनहरूमा के हुन्छ भनेर किटानीकासाथ भन्न नसकिने व्यवसायीहरू बताउँछन ।
