इच्छाराजलाई चरम आर्थिक संकट, सुमार्गीले जाेडन थाले सम्पत्ति
Investopaper, श्रावण ०३, २०७६
घरजग्गा व्यावसायी इच्छाराज तामाङले आर्थिक संकट टार्न सम्पत्ति बिक्री गर्न थालेका छन्। चरम आर्थिक संकटमा रहेका तामाङले ‘प्राइम लोकेसन’ मा रहेका आफ्ना सम्पत्ति बिक्री गर्न थालेका हुन् ।
विगतमा घरजग्गामा मन्दी आएसँगै उनी पछिल्लो समयमा चरम आर्थिक संकटमा छन् । आर्थिक संकट टार्न उनले पछिल्लो समय सुन्धाराको आर्मी अफिसर क्लब अगाडिको सीटीसी मल र चाइना टाउनछेउको जेडीए कम्प्लेक्स बिक्री गरेका हुन् । तामाङले उक्त सम्पत्ति १ अर्ब ३० करोड रुपैयाँमा व्यवसायी अजयराज सुमार्गीलाई बिक्री गरेका छन् ।
अपार्टमेन्ट बिक्री हुन नसकेपछि सिभिल ग्रुपले होटल बनाउने तयारी गरेको थियो । तर, होटलमा थप लगानी गर्न नसकेपछि तामाङले सस्तो मूल्यमै जेडीए कम्प्लेक्स बिक्री गरेका हुन् । कम्प्लेक्स रहेको ६ रोपनी जग्गामा १२ तलाको अपार्टमेन्ट छ ।
तामाङले श्रीमती सिर्जना शाक्यसँग कागजीरूपमा सम्बन्ध बिच्छेद गरेर केही दिनअघि सिभिल बैंकको १७ लाखभन्दा बढीको संस्थापक सेयर बिक्री गरेका थिए ।
१७ लाख ५३ हजार ५ सय ९४ कित्ता सेयर प्रतिकित्ता सय रुपैयाँका दरले संस्थापक सेयर बिक्री गरिएको थियो । यस्तै उनले कीर्तिपुरमा रहेको २ रोपनी जग्गासमेत बिक्री गरेका छन् ।
तामाङ निकट स्रोतका अनुसार उनको करिब २७ अर्बको सम्पत्ति छ। उनलाई संकट टार्न धेरै सम्पत्ति बिक्री गर्नुपर्ने अवस्था रहेको खबर आजको अन्नपूर्ण पोष्टमा छापिएको छ।
